निबन्ध लेखनमा अरनिको माविका छात्रा निर्जला प्रथम

भक्तपुर, असोज १८
विश्व शिक्षक दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योति माध्यामिक विद्यालयले बिहिवार आयोजना गरेको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा अरनिको माविका चात्रा निर्जला सतशंकर प्रथम हुनुभएको छ ।
‘संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक उक्त निबन्ध प्रतियोगितामा सिरूटार माविकी छात्रा दिप्ती न्यौपाने द्वितीय र आयोजक ज्योति माविकी श्रीजु तामाङ तृतीय हुन सफल हुनुभयो । उक्त प्रतिष्पर्धामा अरनिको माविका मुकेश ठाकुर र गणेश माविका मुकेश ठाकुरले सान्त्वना स्थान हासिल गरेका थिए ।


विद्यार्थीमा पठन सीप विकास र लेखनको सिर्जनशीलता अभिवृद्धि गर्न सो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मिलन कायस्थले बताउनुभयो ।
वुमन फर ह्युमन राइटस सिंगल वुमन ग्रुपको प्राविधिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा लेखिएका निबन्धहरूको मूल्यांकन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य ईश्वर बुढाथोकी, शिक्षक एवम् स्रष्टा अम्बिका धिताल र स्रष्टा तथा सञ्चारकर्मी हरिसुन्दर छुकनंको टोलीले गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई आगामी २६ गते आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गर्ने मिति तय गरिएको आयोजक विद्यालयले जनाएको छ ।