नयाँ नगर निर्माण गर्न प्राधिकरणले रोक्का राखेको जग्गा फुकुवा गर्न उपत्यकाका पाँच नगरप्रमुखको माग

भक्तपुर, असोज १८
काठमाण्डौं र भक्तपुरका पाँच वटा नगरपालिकाका प्रमुखहरुले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ नगर निर्माण एवम् विकास गर्न भनी रोक्का राखेको जग्गा फुकुवा गर्न शहरी विकास मन्त्रालयसँग माग गरेको छ ।
काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, शंखरापुरका प्रमुख रमेश नापित, भक्तपुरको मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकका प्रमुख बासुदेव थापा र चाँगुनारायणका प्रमुख जीवन खत्रीले जग्गा फुकुवा नगरे स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ताकाटको लागि सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने चेतावनी समेत दिएको छ ।
स्थानीयको निरन्तर दवाब झेल्दै आएका नगरप्रमुखहरुले जारी विज्ञप्तीमा ‘जग्गा रोक्का भइरहँदा आम जनसमूदायलाई घर लगायत कुनैपनि संरचना निर्माण गर्न र कित्ताकाट गर्ने कार्यमा समस्या परी जनमानसको दैनिक जनगुनासो आउने गरेकोले यथाशिघ्र उक्त जग्गाको रोक्का फुकुवा गर्न र जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ताकाटको सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने’ उल्लेख छ ।
जग्गा फुकुवाको लागि नगर प्रमुखहरुले संयुक्तरुपमा शहरी विकास मन्त्रालयमा आवेदन समेत दिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो । निवेदनमा शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशन गरी काठमाण्डौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ७ बमोजिम ३ वर्षका लागि नयाँ नगर विकास गर्ने र सो प्राधिकरणको पूर्व स्विकृति विना कुनै प्रकारको भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी रोक लगाएकोमा उक्त सूचनाको म्याद समाप्त भैसकेको, हालसम्म उक्त नगर निर्माण एवम् विकास सम्बन्धमा कुनै पनि कार्य भएको नदेखिएकोले फुकुवा गर्न आग्रह गरिएको छ ।

काठमाण्डौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको ‘ईशान’ (पूर्व उत्तर) नयाँ नगर योजना अन्तर्गत पूर्वी सीमाना–भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङसम्म, पश्चिम सीमाना–जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तर सीमाना–क्रिकेट मैदानदेखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोट सम्म र दक्षिण सीमाना– भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देकोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरुको ५२७० हेक्टर जग्गा रोक्का राखेको छ ।
उल्लेखित चारकिलाभित्र कागेश्वरी मनोहरा नगरपालिका वडा नंंं. ४, ५, ६, ७, ८ र ९, शंखरापुरको वडा नंं.५, ६, ७ र ९, भक्तपुरको वडा नंं.२, ६ र १०, मध्यपुर थिमिको वडा नं.२, ६, ७, ८ र ९, चाँगुनारायणको वडा नं.१, २, ३, ४ र ५ को पुरै भाग, वडा नं. ६, ७ र ८ को केही भाग समावेश गरिएको छ ।
यस्तै काठमाण्डौं उपत्यकाको इशान (पुर्व दक्षिण) नयाँ नगर योजना अन्तर्गत पूर्व–सिर्जना नगर चोकदेखि अरनिको राजमार्ग देखि घ्याम्पे डाडा सडक हुँदै सूर्यविनायक जंगलको फेदी हुँदै गुण्डु बसपार्कसम्म, पश्चिममा विरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक हुँदै गाम्चाचोक हर्षचोक देखि हनुमन्ते पुल हुँदै थिमि विरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल (सिबर्ड ईन्टरनेशनल कलेज) सिर्जना चोक र दक्षिणमा गुण्डु बसपार्क देखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै विरुवा बसपार्कसम्मको ४ किल्ला भित्र पर्ने सूर्यविनायक नगरपालिका वडा नं. १, ४, ५, ६ र ७ को १८ हजार १०४ रोपनी जग्गा कित्ताकाट गर्न र कुनैपनि भौतिक संरचना निर्माण गर्न रोक्का राखेको छ ।
३ वर्षका लागि रोक्का राखेपनि हालसम्म नयाँ शहर निर्माण र विकासको कुनै पनि कार्य अगाडि बढेको छैन । जग्गा रोक्का राखेको ६ वर्ष बितिसक्दा पनि नयाँ नगरको डिपिआर समेत निर्माण हुन सकेको छैन । जग्गा रोक्का हुँदा स्थानीयले अंशवण्डा, आवासका लागि घर निर्माण र घरायशी आवश्यकताका लागि कित्ताकाट गरी जग्गा बिक्रि वितरण गर्न समेत नपाउँदा पारिवारिक कठिनाई समेत झेल्दै आएका छन ।