एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु

भक्तपुर, असोज १८
आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन् । दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित दिल्ली, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र हैदरावादसहित भारतका १० शहरमा खेलहरु सञ्चालन हुनेछ । भारतले पहिलोपटक पुर्ण आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गर्दैछ ।
यो विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुईपटकको विजेता वेस्टइन्डिज भने यो पटक छनोट हुन सकेन ।
एसिया कपमा केही निराशाजनक प्रदर्शन गरे पनि पाकिस्तान १९९२ पछि पहिलोपटक विश्वकप जित्ने योजनामा छ । नसिम साह चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि तीव्र गतिको आक्रमणमा केही असर परेको छ । कप्तान बाबर आजम एकदिवसीय ब्याटरको शीर्ष स्थानमा छन् ।
इङ्ल्यान्ड पनि उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ । डिफेन्डिङ च्याम्पियनसँग सन्तुलित र आक्रामक टोली छ । अघिल्लोपटक उपविजेता बनेको न्युजिल्यान्डका कप्तान केन विलियम्सन चोट मुक्त हुँदै पिचमा फर्किएका छन् ।
पाँच पटकको च्याम्पियन अस्ट्रेलिया हरेक संस्करणको विश्वकपको दाबेदार हो । म्याच विनरहरुले भरिएको अस्ट्रेलियासँग कुनै पनि टिमभन्दा राम्रो ब्याटिङ र बलिङ आक्रमण छ । प्रतियोगिताको उपाधि दाबेदार नभए पनि अफगानिस्तान कुनै टिमको उपाधि यात्रामा बाधक बन्न सक्छ ।
सिंगल राउन्ड–रोबिनको आधारमा खेलिने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल हुनुअघि ४५ खेल हुनेछन् । राउन्ड रोबिनका शीर्ष चार टोलीले फाइनलमा स्थान बनाउँदा पहिलो र चौथो हुने टोलीले नोभेम्बर १५ मा मुम्बईमा र दोस्रो र तेस्रो हुने टोलीले नोभेम्बर १६ मा कोलकातामा सेमिफाइनल खेल्नेछन् ।

४६ दिन चल्ने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ अहमदाबादमा हुनेछ । दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन् । यी दुईबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।
हालसम्म २० देशले विश्वकप खेल्दा ६ देशले मात्रै उपाधि जितेका छन् । सबैभन्दा बढी विश्वकप जित्ने टोली अष्ट्रृलियाले ५ पटक सन् १९८७, १९९९, २००३, २००७ र २०१५मा उपाधि जितेका छन ।
वेष्ट इण्डिजले २ पटक सन् १९७५ र १९७९, भारतले २ पटक सन् १९८३ र २०११, पाकिस्तानले सन् १९९२, श्रीलंकाले सन् १९९६ र इङ्ल्याण्डले सन् २०१९ ले उपाधि जितेका छन ।
यस्तो छ विश्वकपको ढाँचा
विश्वकपमा कुल ४८ खेलहरु हुनेछ । सबैभन्दा पहिले राउन्ड रोबिनका खेलहरु हुनेछन् । यस चरणमा सबै टोलीले सबैसँग १÷१ खेल खेल्नेछन् । राउन्ड रोविनका खेलपछि शिर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलबाट फाइनल पुग्ने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सेमिफाइनल खेल मुम्बईको वानखेडे स्टेडियम र कोलकाताको इडेन गार्डेनमा हुनेछ भने फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ ।
एकदिवसीय विश्वकपको सेमिफाइनल र फाइनल दुवै खेलका लागि रिजर्भ डे राखिएको छ । खेलका लागि निर्धारण गरिएको समयमा वर्षा भएमा वा अन्य कारणले खेल रोकिएमा अर्को दिनका लागि खेल सारिनेछ ।
विश्वकपको प्रत्यक्ष प्रशारण
यस पटकको विश्वकप क्रिकेट तपाईंले घरमै बसेर टेलिभिजनमा हेर्न सक्नु हुनेछ । विश्वकप क्रिकेटको प्रशारण अधिकार स्टार स्पोर्ट्सले किनेकाले स्टार स्पोर्ट्सका सबै च्यानलहरूबाट विश्वकप हेर्न सकिनेछ ।

अंग्रेजी र हिन्दी भाषामा स्टार स्पोर्ट्सका सबै च्यानलबाट खेल हेर्न सकिनेछ । टीभीबाट हेर्न नचाहनेले प्ले स्टोरबाट डिज्नी प्लस‚ हटस्टार एप डाउनलोड गरेर निःशुल्क हेर्न सकिनेछ ।