एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार

भक्तपुर, असोज १८
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधवार पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पुरा गर्दै व्यक्तिगत समयमा सुधार गरेका हुन । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पुरा गर्दै स्वर्ण जितेका थिए ।
विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।
बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पुरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् ।
भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयका साथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए ।