मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड

भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजश्व शाखा गरी १० वटा संकलन केन्द्रबाट गत आ.व.मा २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैंया आन्तरिक आम्दानी गरेको हो ।
मध्यपुर थिमिले गत आ.व.मा नगर कार्यपालिकाको राजश्व शाखाले संकलन केन्द्रहरु मध्ये सबैभन्दा धेरै ८ करोड ५ लाख ३० हजार ८५८ रुपैंया आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए ।
वडा कार्यालयहरु मध्ये सबै भन्दा धेरै वडा नं. ३ ले आम्दानी गरेको छ । वडा नं. ३ ले ३ करोड ९८ लाख १७ हजार २२५ रुपैंया आम्दानी गरेको हो । वडाले ४ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखिएकोमा करिव ४ करोड संकलन गर्न सफल भएको बताउँदैं वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले भन्नुभयो, “व्यवसाय दर्ता अभियान अन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसल पसलमा पुगेर व्यवसाय दर्ताको लागि अनुरोध गरिएको र सो अनुसार करिव ४ सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिव ४ करोड राजश्व संकलन गर्न सफल भएको हो ।”


वडा कार्यालयहरु मध्ये वडा नं. २ ले २ करोड २७ लाख ५५ हजार ७७४, वडा नं. १ ले २ करोड २२ लाख ४२ हजार ९५६, वडा नं. ४ ले १ करोड ९२ लाख ६४ हजार ६२०, वडा नं. ९ ले १ करोड ६३ लाख ८२ हजार ५८७ रुपैंया संकलन गरेको नगरपालिकाका सूचना अधिकारी एवम् महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिनुभयो ।
यसैगरी वडा नं. ५ ले १ करोड ५० लाख ५५ हजार ९८, वडा नं. ६ ले ९७ लाख ५९ हजार २१७, वडा नं. ८ ले ८८ लाख ४६ हजार ८०० र सबैभन्दा कम वडा नं. ७ ले ६६ लाख ८३ हजार ७२४ रुपैंया आम्दानी गरेको सिलवालले बताउनुभयो ।