बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७ दिने सूचना

भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम सानोथिमिलाई बक्यौता कर तिर्न असोज १६ गते ७ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
एस.ओ.एस. बालग्रामले घरजग्गाको सम्पत्ति कर नबुझाएको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेकोले सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
‘यस नगरपालिका वडा नं. २ (साविक वडा नं. १७)मा अवस्थित एस.ओ.एस. बालग्राम सानोथिमि, भक्तपुरले यस नगरपालिकालाई तिर्न बुझाउन बाँकी सम्पूर्ण बक्यौता घरजग्गा सम्पत्ति कर बुझाउन पत्राचार गरिएकोमा निर्धारित अवधि भुक्तान भईसक्दा पनि कर तिर्न नआएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्पूर्ण बक्यौता घरजग्गा सम्पत्ति कर तिर्न बुझाउन हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख गरिएको छ ।


यसैगरी मध्यपुर थिमि नगरपालिकाले व्यापारिक प्रतिष्ठान बतास एशोसियट्स प्रा.लि गैह्रीधारा काठमाण्डौलाई ७ दिनभित्र नगरपालिकालाई तिनुपर्ने कर बुझाउन सूचना जारी गरेको छ । बतासले नगरपालिकासँग २०७५ मंसिर २० गते अरनिको राजमार्ग अन्र्तगत मनोहरा पुल लोहकिल्थलीदेखी राधेराधे हुनुमन्ते पुलसम्मको सडक खण्डमा सोलार सडक बत्ती, आधुनिक ट्राफिक पोष्ट र दुई खम्बे सार्वजनिक जानकारी दुरी, दिशा, गति, स्थान र संकेत आदिसहित व्यवसायिक सन्देश बोर्ड जडान, सञ्चालन तथा हस्तान्तरण परियोजना सम्झौता गरेको थियो ।
सो सम्झौता अनुसार नगरपालिकालाई बुझाउनु पर्ने विज्ञापन कर तथा रोयल्टी वापतको रकम हालसम्म दाखिला नगरेकोले बाँकी बक्यौता बुझाउन ७ दिनको सूचना जारी गरेको नगरपालिकाले जनाएको छ ।


यस्तै नगरपालिकाले तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरुलाई पनि बाँकी बक्यौता तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले स्पिनिङ मिल्सका सञ्चालक समितिका अध्यक्ष शिवकुमार अग्रवाल, सञ्चालकहरु विमलादेवी अग्रवाल र सुमित कुमार अग्रवालका नाममा मिल्सको नाममा रहेको साविक कित्ता नं. ५८ को क्षेत्रफल ७००२.१० बर्गमिटर जग्गा र सो जग्गामा अवस्थित भौतिक संरचनाहरुको नियमानुसार तिर्नु बुझाउन बाँकी घरजग्गा कर ७ दिनभित्र बुझाउन सूचना जारी गरेको हो ।