क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धिका लागि भक्तपुरमा प्रभातफेरी

भक्तपुर, असोज १६
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्न मंगलवार भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । यही असोज २० गते हुन गइरहेको क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० को प्रवद्र्धन गर्ने उद्देश्यले समेत उक्त प्रभातफेरी आयोजना गरिएको हो ।
दिक्षा (गौरी) हाडा स्मृति प्रतिस्थान (डिएफएन) र लायन्स क्लब अफ भक्तपुर भैरवले संयुक्तरुपमा आयोजित प्रभातफेरी सिद्धपोखरीबाट शुरु भई खौमा, दरवारस्क्वायर, सुकुलढोका, टौमढीहुँदैं पुनः सिद्धपोखरी पुगेर समापन भएको थियो ।


प्रभातफेरीमा डिएफएनका सदस्यहरु, लायन्स क्लबका सदस्यहरु, क्यान्सर सपोर्ट गु्रपका सदस्यहरु लगायत थुप्रै शुभेच्छुकहरुको सहभागिता रहेको डिएफएनका अध्यक्ष राजेश हाडाले बताउनुभयो । उहाँले प्रभातफेरीमा सहभागीहरुलाई धन्यवाद दिँदैं असोज २० गते हुने क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० मा पनि सहभागी हुन आह्वान गर्नुभयो ।
डिएफएनले क्यान्सर रोगको सचेतना बृद्धिका लागि क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० आयोजना गर्दैछ । उक्त कार्यक्रममा क्यान्सर विजेता गायिका देविका प्रधानले सांगेतिक कोशेली पस्कँदै हुनुहुन्छ । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने गरिन्छ ।