एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा

भक्तपुर, असोज १६
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेल १५ मिनेट चलेको थियो ।
यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी ३ मा भने नेपाल पराजित भयो । महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।
महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।
कबड्डी ः नेपाल इरानसँग पराजित
हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मंगलबार पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भएको हो ।
नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर ग¥यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दे इतिहास रच्ने छ ।


पुरुष क्रिकेट ः उत्कृष्ट खेलका बावजुद नेपाल पराजित
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल मंगलबार क्वाटरफाइनलमा पराजित भएको छ । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले नेपाललाई २३ रनले पराजित ग¥यो । यशस्वी जैसवालको शतकप्रेरित भारतले निर्धारित २० ओभरमा नेपालसामु २०३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको नोक्सानीमा १७९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । उनले १५ बलमा चार छक्का प्रहार गरे ।
नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । ३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किए । त्यसपछि आएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गरे । यद्यपि, ११औं ओभरमा कुशल २९ रनमा रवि बिश्नोईद्वारा आउट भए । दोस्रो विकेटका रूपमा आउट भएका भुर्तेलले २८ रन जोडे । नवौं ओभरमा पनि कप्तान रोहित पौडेल ३ रनमै आउट भए ।
दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गर्दै जितको आशा दिलाएका थिए । यद्यपि, १५ र १६ औं ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जित टाढियो । दीपेन्द्र ३२ रन र सन्दीप २९ रनमा आउट भए । करण केसीले १८ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
भारतको बलिङमा आवेश खान र रवि बिश्नाईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिए । त्यसअघि टस जितेको भारतले बिस्फोटक ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २०२ रनको योगफल बनायो ।


आक्रामक ब्याटिङ गरेका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोडे । नेपाली बलरमाथि पूर्ण हाबी भएका जैसवालले आठ चौका र सात छक्का प्रहार गरे । जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याच आउट भए । भारत १५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किए । भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ ग¥यो । भारतले ९.१ ओभरमा नै एक सय रन बटुल्दै नेपाली बलरमाथि दबाब बनाइराखे ।
यसै ओभरको पाँचौं बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट दिलाए । त्यसपछि भने नेपालले १५ औं ओभरसम्म कसिलो बलिङ ग¥यो । यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो । यद्यपि, अन्तिम पाँच ओभर नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए । पाँचौं विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै २०० रनको आँकडा पार गराए । रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहे । यस क्रममा शिवमले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काए ।
डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहोराले २५ रन खर्चिएपछि नेपालमाथि दबाब प¥यो । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले निकै खराब बलिङ गरे । चार ओभरमा उनले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सकेनन् । नेपालका सबै बलर महँगा साबित भए । यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिए । तीन ओभर बलिङ गरेका सन्दीपको नाममा पनि एक विकेट रह्यो ।
भारोत्तोलन
भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन् । स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भए । तेश्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । तर उनले १२५ केजी वजन उठाउन सकेनन् ।


क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै (१४५ केजी) वजन उचाल्न सफल भए । तेश्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । १५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।
एथलेटिक्स ः राजपुराको व्यक्तिगत उत्कृष्ट प्रदर्शन
एथलेटिक्सका राजपुरा पछाईं महिला ५ हजार मिटर दौडमा १२ औं स्थानमा सीमित भइन् । सहभागी १३ मध्ये राजपुरा १२ औं भएकी हुन् । राजपुरासंगै उक्त स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी नेपालकी सन्तोषी श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।
राजपुराले निर्धारित दूरी पूरा गर्न १७ मिनेट ०५.३४ सेकेन्डको समय निकालिन् । यो प्रदर्शन उनको अहिलेसम्मकै उत्कृष्ट समय हो । उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड रहेको छ ।

एथलेटिक्सको महिला ८ सय मिटर दौडमा नेपालकी फुलमती राणाले आफ्नो पहिलो चरणको दोश्रो हिटमा छैटौं भएकी छन् । सहभागी ७ मध्ये फुलमतीले समग्रमा छैटौं स्थानमा दौड टुंगाएकी हुन् ।
हाङझाव एसियाडको मुख्य रंगशाला हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको पहिलो चरणको दोश्रो हिटमा फुलमतीले निर्धारित दूरी २ मिनेट २२.५९ सेकेन्डमा पूरा गरिन् । उक्त हिटमा पाकिस्तानकी रविला फारुक डिस्क्वालिफाइ भइन् । १ हजार ५ सय मिटर दौडमा फुलमतीको चुनौती समाप्त भइसकेको छ ।