नवजात शिशु मृत फेला

भक्तपुर, असोज १६
भक्तपुरको हनुमन्ते खोला किनारमा नवजात शिशुको शव फेला परेको छ । भक्तपुर नगरपालिका–१, सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोला किनारमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।
स्थानीयले अन्दाजी २–३ दिन को जस्तो देखिने सालनाल सहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा छ भन्ने खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।