लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण

भक्तपुर, असोज १५
सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण गरिएको हो ।
सूर्यविनायकमा लम्पी स्किन रोगबाट ३१६ वटा गाई मरेको थियो । नगरपालिकाले दुध दिने गाईको १० हजार रुपैंया र दुध नदिने गाईको ७ हजार रुपैंयाका दरले राहत वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले २४७ जना किसानलाई २७ लाख ५२ हजार रुपैंया राहत वितरण गरिएको हो ।


नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राहत रकम वितरण गर्दै नगरप्रमुख बासुदेव थापाले लम्पी स्कीनले किसानलाई पारेको क्षतीपुर्ती स्वरुप रकम वितरण गरिएको बताउनुभयो । उहाँले राहत रकम ठूलो नभएपनि किसानलाई पशुपालन ब्यवसायबाट विस्थापीत हुन नपरोस भन्ने उद्देश्यले अनुदान सहयोग गरिएको बताउनुभयो ।
लम्पी स्कीन महामारीको समयमा पशु चिकित्सकहरु पठाएर निःशुल्क रुपमा जाँच र खोपको व्यवस्था गरेर सहयोग गरेको बताउँदै नगर प्रमुख थापाले नगरपालिकाले सकेसम्म आफ्नो कर्तब्य निर्वाह गरेको र आगामी दिनमा पनि किसानको लागि थप कार्यक्रम ल्याइने विश्वास दिलाउनुभयो ।
नगरपालिकाको १० वटै वडाबाट लम्पी स्कीन रोगका कारण के कति क्षति भयो र के कति गाई मरे भनेर लगत संकलन गरेको थियो । लगत संकलनमा दुहुनो, ब्याउने र बाछी गरि ३१६ वटा गाई मरेको पाइएको थियो ।