ज्येष्ठ नागरिक समाजको पुँजी हो – मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मी

भक्तपुर, असोज १५
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवम् पुर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले ज्येष्ठ नागरिक समाजको पुँजी भएको बताउनुभएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर थिमि नगदेशस्थित नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था र सहयोगी वचत तथा सेवा सहकारी संस्थाले सोमवार आयोजना गरिएको ज्येष्ठ नागरिकहरुको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रेग्मीले ज्येष्ठ नागरिकको पृष्ठभुमी, अनुभव र क्षमता हेरेर सबैबाट समाजले कुनै न कुनै कुरामा लाभ लिन सकिने हुनाले उनीहरु समाजको पुँजी भएको बताउनुभएको हो ।
सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकहरुलाई आत्मसम्मान र समाजले योगदान र महत्वको कदर गर्दो रहेछ भन्ने अनुभुती दिलाउन सफल हुने बताउँदैं उहाँले ज्येष्ठ नागरिकको हकहित तथा कल्याणको कार्यलाई प्राथमिकताका साथ विशेषरुपमा हेरियोस भनी सरकारसँग आग्रह गर्नुभयो ।


नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ले ज्येष्ठ नागरिकको हकहित र संरक्षण सम्बन्धमा थुप्रै कानुनी व्यवस्था गरेपनि कार्यान्वयनको स्थिती कमजोर भएकाले सरकारले यसमा धेरै काम गर्न बाँकी रहेको खाँचो औंल्याउनुभयो ।
उहाँले परिवारले हेंलाहोचो गरेका, पालनपोषण गर्न सक्नेले पनि नगरी वृद्धाश्रममा लैजाने प्रवृत्तिपनि समाजमा देखा पर्न थालेकोले बुढेसकालमा चाहिने माया ममताबाट ज्येष्ठ नागरिक टाढिँदैं गएका हुनकी भन्ने जस्तो लाग्न थालेको बताउनुभयो ।
उहाँले पारिवारिक प्रेम सदभाव र भोलीको पाटो सिकाउने नैतिक शिक्षाको कमी भएको बताउनुभयो । “अघिल्लो पुस्ताको ज्ञान सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुँदैं गयो भने मात्रै हाम्रो समाज समुन्नत हुने हो । हाम्रो समाज र सँस्कृति सुदृढ हुने हुन्छ । उन्नत पारिवारिक सँस्कृति खस्कँदो छ । यसैले पारिवारिक प्रेम सदभाव र भोलीको पाटो सिकाउने नैतिक शिक्षाको कमी भएको छ,” उहाँले भन्नुभयो ।
ज्येष्ठ नागरिक र सम्पूर्ण नागरिकको उत्थानको लागि सेवा र सहुलियत अहिलेको सबभन्दा महत्वपूर्ण खाँचो रहेको बताउँदैं उहाँले “राज्यबाट दिईने सेवा, संवैधानिक हक का प्रत्याभुतीका कुराहरु सक्षम र समृद्ध राष्ट्रको दायित्व भित्र पर्छ,” भन्नुभयो ।


आयस्रोत नभएका ज्येष्ठ नागरिकहरुको लालनपालन र जीवन निर्वाहको लागि आवश्यक व्यवस्था गर्नु राज्यको दायित्व भएकाले संघीय सरकारदेखी तीनै तहका सरकारका योजना त्यतातर्फ केन्द्रीत हुनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहकारीलाई कृषि घरेलु तथा साना उद्यम र कृषि उद्यमसँग जोडेर लैजानुपर्ने बताउनुभयो । “सहकारीलाई कृषिसँग जोड्ने नीति लिई काम शुरु गरिएको थियो । जबसम्म सहकारीलाई कृषि, घरेलु तथा साना उद्यम र कृषि उद्यमसँग जोडिदैंन तबसम्म सहकारीले राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने गरी योगदान दिन सक्दैन । राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्नपनि सक्दैन । त्यसकारण सहकारीको भूमिका र यसको परिकल्पना गर्दा पनि ग्रामिण अर्थव्यवस्थालाई सुदृढ गर्ने, राष्ट्रिय अर्थतन्त्र मजबुद होस र राष्ट्रिय उत्पादकत्वमा सबैको सहभागिता सुनिश्चित गरेर जरैदेखी बलियो राष्ट्र बनाउनु सहकारीको मूल मर्म थियो,” उहाँले भन्नुभयो


सार्वजनिक, नीजि र सहकारी सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने हाम्रो संविधानले तय गरेको आर्थिक नीति भएकाले उल्लेख गर्दै उहाँले अहिले अधिकांश सहकारीहरु कुनै न कुनै रुपमा समस्या रहेको र जनता पिडामा रहेकोले सबैले त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारीलाई नियमन गर्ने र व्यवस्थापन गर्ने दायित्व राज्यको हो । त्यतापट्टि बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।”
सो कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचित भएपछि पहिलो निर्णय नै ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको स्मरण गराउँदैं ज्येष्ठ नागरिकहरुलाई दिवा सेवा दिने उद्देश्यले बोडेमा भवन निर्माण गरिएको र सिद्धिकालीमा पनि भवन निर्माणको काम शुरु हुन लागेको जानकारी दिनुभयो ।
उहाँले पाँच वर्षे कार्यकालभित्र सबै नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गरी सहुलियत र सरल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ अहिले एकल महिला, अपांगता भएका नागरिक र दलितको बिमा शुरु गरिएको बताउनुभयो ।


आयोजक संस्थाका अध्यक्ष एवम् सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्गले मध्यपुर थिमि नगरपालिकाका अहिले जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकहरुलाई आवश्यक सहयोग गर्दै आएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई आजको अवस्थामा पुर्याउन वचत सहकारीको ठूलो योगदान भएको चर्चा गर्दै नेपालमा वचत सहकारीको विकास र बिस्तारका लागि आयरल्याण्डका सहकारी अभियानकर्ता अगष्टाइन गुस मुर्रेको योगदान रहेको बताउनुभयो ।
सो अवसरमा १४ औं अगष्टाइन गुस मुर्रे पुरस्कार ललितपुर महानगरपालिकामा पहिलो सहकरीको रुपमा स्कोप वचत तथा ऋण सहकारी संस्था दर्ता गराउने किशोरभाई महर्जनलाई प्रदान गरिएको थियो । यसैगरी भक्तपुर चित्रपुरको जनता वचत तथा ऋण सहकारी संस्था र काभ्रेपलाञ्चोकको सक्षम वचत तथा ऋण सहकारी संस्थालाई पनि पुरस्कृत गरिएको थियो ।
यस्तै नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्थाका ६० जना भन्दा बढी ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै अष्टमात्रिका देवीहरुको हातबाट ज्येष्ठ नागरिकहरुलाई लौरो, पोषणयुक्त आहार, भिटामिन औषधीलगायतका सामग्री मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।