ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा

भक्तपुर, असोज १४
साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह शुरु गरिएको हो । यसक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरको आयोजनामा मध्यपुर थिमिमा आइतवार शंखधर चोकदेखी राधेराधे माइक्रो पार्कसम्म बृहत पदयात्रा आयोजना गरिएको छ ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ट्राफिक नियमको पालना गर्नाले दुर्घटनामा पर्ने जोखिम अत्यन्त कम हुने बताउनुभयो । उहाँले शहरलाई सुन्दर बनाउन जथाभावी पार्किङ निषेध गर्नु आवश्यक भएकाले नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरी अति व्यस्त सडक, चोकहरुमा पार्किङ निषेधको अभियान शुरु गरिएको बताउनुभयो ।


उहाँले मध्यपुर थिमि नगरपालिकालाई सडक दुर्घटना मुक्त नगर बनाउन, व्यस्थित पार्किङको विकास गरी सुन्दर नगर निर्माण गर्न नगरपालिकाले आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल स्काउट मध्यपुर थिमिका तुलसी हरी प्रजापतिले ट्राफिक नियम आफ्नो सुरक्षाका लागि हो भन्ने ज्ञान सबैले लिएर सोही अनुसार पालना गरे दुर्घटनामा पर्ने जोखिम अत्यन्त कम हुने बताउनुभयो ।


ट्राफिक सप्ताहमा ट्राफिक प्रहरीले विभिन्न संघसंस्था, स्काउट, विद्यालय र कलेजको सहयोगमा मूख्य मूख्य चोकमा सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा पम्पलेट वितरण गर्ने, जथाभावी बाटो काट्ने पैदल यात्रीलाई ट्राफिक नियमबारे जानकारी दिने र यातायातका साधनलाई जथाभावी रोक्न नलागउने र लेन अनुशासन पालना गर्न सचेत बनाउने जस्ता गतिविधि सञ्चालन गरिने महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख सन्तोष न्यौपानेले बताउनुभयो ।


पदयात्रामा नेपाल स्काउट स्थानीय कार्यालय मध्यपुर थिमि, परिष्कृत नेपाल, डिवाइन क्लव, एसएस कलेज, ख्वप मावि, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिकाको नगरप्रहरी, नेप्सेम्याक, नेपाल पत्रकार महासंघ भक्तपुर, ट्राफिक प्रहरीलगायत गरी करिव ३ सय जनाको सहभागिता रहेको थियो ।
पदयात्राको क्रममा रातो ‘बत्तिमा रोकौं, हरियो बत्तिमा जाऔं’, ‘लेन अनुशासन पालना गरौ’ं, ‘सडकमा पैदल हिँड्दा सडकको बाँया किनारबाट हिँडौं’, ‘जथाभावी सडक पार नगरौंं’, ‘सडक पार गर्दा जेब्रा क्रसिङ वा आकाशे पुलको प्रयोग गरौं’ जस्ता सन्देशमूलक नारा लगाईएको थियो ।