मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा

भक्तपुर, असोज १३
विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुकोबारेमा थाहा पाउनुहोस’ भन्ने नाराका साथ आम जनतामा मुटुलाई स्वस्थ राख्न जनचेतना अभिबृद्धि गर्ने र मध्यपुर थिमिको सम्पदालाई थप परिचित बनाउन उक्त सम्पदा पदयात्रा आयोजना गरिएको हो ।
पदयात्राको शुभारम्भ गर्दै बागमती प्रदेशका पर्यटन, संस्कृति मन्त्री पुकार महर्जनले मुलुकको अर्थतन्त्र दिगो बनाउन पर्यटन उद्योगको विकास र बिस्तार आवश्यक भएको र त्यसका लागि यहाँको परम्परागत कला सँस्कृति र सम्पदाहरुलाई विश्वमा परिचित बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकनका लागि लायन्सले जस्तै अन्य संघसंस्थाहरुले पनि पर्यटकलाई ल्याउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले लायन्सले मध्यपुर थिमिको सम्पदाहरुको प्रचार प्रसारका लागि सम्पदा पदयात्रा आयोजना गरिएकोमा धन्यवाद दिँदैं भविष्यमा पनि यस्तै कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ एच एमडि ३२५ चिफ चार्टर प्रिसिडेण्ट एमजेएफको संयोजक एवं पदयात्रा कार्यक्रमका संयोजक उद्धव सिलवालले भक्तपुरमा वर्षेनी लाखौ पर्यटक भित्रिएपनि मध्यपुर थिमि प्रवेश नगर्ने परिपाटी अन्त्य गर्न र यहाँको सम्पदाहरुलाई लायन्सका सदस्यहरुमार्फत विश्वमा परिचित बनाउन सहयोग पु¥याउने र मुटु स्वस्थ राख्न जनमानसमा जनचेतना अभिबृद्धि गर्न सम्पदा पदयात्रा आयोजना गरिएको बताउनुभयो ।


लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोण्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वरले संयुक्त रुपमा आयोजना गरिएको उक्त पदयात्रा शंखधर चोकबाट शुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहार नगदेश, नीलकण्ठेश्वर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो ।
पदयात्रामा सम्पदा अवलोकनसँगै स्थानीय विज्ञबाट सम्पदाको महत्व, ऐतिहासिक धार्मिक पक्षका बारेमा जानकारी गराएको पदयात्रा प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज भट्टले बताउनुभयो ।


पदयात्रामा बागमती प्रदेश सभा सदस्यद्धय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, बागमती प्रदेशका पूर्व उद्योग तथा वाणिज्य राज्यमन्त्री रजनी जोन्छे, मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, पुर्वउपप्रमुखद्धय अञ्जनादेवी मधिकर्मी, मुरारीप्रसाद आचार्य, मध्यपुर थिमिका वडाअध्यक्षहरु, शंखधर शाख्वा प्रतिष्ठानका पदाधिकारीहरु, लायन्समा विभिन्न क्लवका सदस्य लायनहरु, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, नेपाल स्काउट, सञ्चारकर्मीलगायतका करिव ४ सय जनाको सहभागिता रहेको थियो ।