जयजयकारको ध्वनीसँगै हजारौंको सामुन्ने बालकरामले छेडाए जिब्रो

भक्तपुर, असोज १२
मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा हजारौं नगरवासीको जयजयकारसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत बालकरामले जात्रालाई निरन्तरता दिन जिब्रो छेडाउनु भएको हो ।
परम्परागत मान्यता अनुसार मध्यपुर थिमि क्षेत्रलाई भुतप्रेत, पिचास र राक्षसरुपी दानवहरुबाट बचाउन बालकरामले जिब्रो छेडाउने साहसी कार्य गर्नुभएको हो । दिनभरी मौन व्रत लिनुभएका बालकरामले जिब्रो छेडाउनु अघि बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मका देवी देवतालाई बत्ति दिनुभएको थियो । दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि उहाँलाई दुई जनाले समाएर उल्टो हिँडाएर जिब्रो छेड्न तयार गरिएको डबलीमा लगिएको थियो ।
त्यसपछि एक समूह कर्मी नाईके लिन उहाँको घरतर्फ लागे । एकै छिनमा त्यो समूहले कर्मी नाइकेलाई लिएर आए । त्यसको केही क्षणमा नै एक समूहले थिमि लाय्कुको मुख्य व्यक्ति पमा नायो श्यामकृष्ण श्रेष्ठलाई लिएर आए । पमा नायो श्यामकृष्ण परम्परागत पोशाकमा राज खड्ग लिएर आउनुभयो । पमा नाईके डवलीमा चढेपछि सयौं जनमानसलाई देखाएर नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो सुईरोबाट कमीनायोले बालकरामको जिब्रो छेडी दिए ।


सो बेला उपस्थित हजारौं जनमानसले श्री भैरवनाथकी जय, श्री बालकुमारी माईकी जय, श्री सिद्धकाली माईकी जय भन्दै जयजयकार गरेका थिए ।
जिब्रो छेडाई सकेपछि बालकरामले बाँसले निर्माण गरिएको भ्य (महादिप) काँधमा बोकेर दिगुलीस्थित भैरवनाथलाई परिक्रमा गरी आफ्नो टोल चोडेस्थित गणेशको दर्शन गर्नुभयो । त्यहाँबाट भुलाँखेल, सिद्धिकाली मन्दिर,ं सानोथिमि, पेप्सीकोला, एअरपोर्टको उत्तरपुर्वको बाटो हुँदैं पशुपतिनाथको दर्शनका लागि जानुभएको थियो ।
यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ ।


सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
जात्रा अवलोकनका लागि सँस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती, भक्तपुर षेत्र नं. २ का सांसद दुर्लभ थापा, बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।