मध्यपुर थिमिका आज जिब्रो छेड्ने जात्रा

भक्तपुर, असोज १२
येंया पुन्हीको अवसरमा आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैंछ । मध्यपुर थिमि–४ चोडे टोलका बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएर यसवर्षको जात्रालाई निरन्तरता दिँदैछन । बालकरामले जिब्रो छेडाउन लाग्नु भएको यो दोस्रो अवसर हो । यसअघि उहाँले २०७५ सालमा पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुन्छ । बिस्काः (बिस्केट) जात्राको अवसरमा बैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात आश्विन शुक्ल पुर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सोही अनुसार आज यो जात्रा हुन लागेको हो ।
जात्रा स्थानीय दिगुभैरवको डबलीबाट शुरु हुन्छ । डबलीमा निर्माण गरिएको मञ्चमा कमी नायोले करिव एक फिट लामो सुईरोले जिब्रो छेडेपछि जात्रा शुरु हुन्छ ।
जात्राको परम्परा अनुसार जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।


डवलीमा सयौं जनमानसलाई देखाएर कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई जिब्रो छेड्ने व्यक्तिको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ ।
यसवर्ष जिब्रो छेडाउने बालकरामले पशुपतिनाथको दर्शन गर्ने ईच्छा गर्नुभएकोले सोही अनुसार जात्राको तयारी भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।
जात्राको परम्परा अनुसार दिगु भैरवको दर्शनपछि आफ्नो टोलको दर्शन गर्नुपर्छ । सोही अनुसार यसवर्ष दिगुलीबाट चोडेटोल, भुँलाखेल, सिद्धिकाली, सानोथिमि, पेप्सीकोला, एअरपोर्ट उत्तरपुर्वहुँदैं देवपतन पुगेर पशुपति नाथको दर्शन गरी फर्कने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।
जात्राको तयारीको बारेमा बिहिवार प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ नेतृत्वको जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले जात्रास्थल र जात्राको मार्गको बारेमा स्थलगत निरिक्षण गरी जानकारी लिनुभएको छ ।
सो अवसरमा प्रजिअ श्रेष्ठले जात्रा व्यवस्थापन समिति, जिब्रो छेडाउने तयार हुनुभएका बालकराम लगायतसँग प्रत्यक्ष भेटघाट गरी जात्राको बारेमा जानकारी लिनुभएको थियो ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।