नेवार समुदायले मनाए चथाः

भक्तपुर, असोज २
भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा नेवार समुदायले सोमवार राती गणेश, चन्द्रमा र चथाः द्योको पुजा गरी चथाः पर्व मनाएका छन । तिथि घटबढका कारण सोमवार तीज भएपनि साँझ नेवार समूदायले चतुर्थी मनाएका हुन । केहीले मंगलवार मनाउँदैंछन ।
नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामनाका साथ चथाः पर्व मनाउँछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घर चोख्याएर दुवो, लड्डु र मुला चढाएर गणेशको पुजा गर्दछन । यसो गर्दा भगवान गणेश खुसी हुने र जीवनमा चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
नेवार समुदायले चथाः पर्वको परम्परा अनुसार साँझ चन्द्रमाको पुजा गरेका थिए । चन्द्रमालाई विधि पूर्वक पुजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ । यस दिन नेवार समुदायले विशेषगरी कमलको पात, कमलको पात नभए हलेदोको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्वा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी राखेर साँझ चन्द्रमाको पुजा गर्ने गर्दछन । घरका सबैजना बसेर चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी प्रसादको रुपमा खाने चलन रहेको छ ।
नेवार समुदायमा चन्द्रमाको पुजा गर्ने दुई वटा परम्परा रहेको छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घर भित्र छिर्न नसक्ने गरी लुकेर पुजा गर्ने गर्दछन भने अर्को थरी समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ ।
राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो ।
गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडको रुपमा समेत लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले चथाः दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन पनि रहेको छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाईन्छ । चथाःकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पुजा गर्ने प्रचलन समेत रहेको छ ।
पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन। गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो ।
त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अब देखी भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए। साथै गणेशले राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ ।
चथाःको दिन ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाण्डौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ ।