एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

भक्तपुर, भदौ २६
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदिय दलका उपनेता सुवास नेम्वाङको गएराती निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको हो ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनुभएको थियो । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आउनुभएको थियो । वि. सं. २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल पर्नुभयो ।
वि. सं. २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।
वि. सं. २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो ।
उहाँ जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष बन्नुभएका उहाँ चारपल्ट सभामुख बन्दा सधैं सर्वसम्मत हुनुभयो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।