कविता प्रतियोगितामा जेनिशा प्रथम

भक्तपुर, भदौ २६
मध्यपुर थिमि नगरस्तरीय विद्यालयव्यापी कविता प्रतियोगितामा भक्तपुर ईङ्गलिस स्कुलकी छात्रा जेनिशा जोशी प्रथम हुनुभएको छ । भक्तपुर बुढ्यौली साहित्यिक समाज भक्तपुरले सोमवार आयोजना गरेको ज्येष्ठ नागरिक विषयक कविता प्रतियोगितामा सहभागी ३३ जनामा जोशी प्रथम हुनुभएको हो । उहाँले आयोजकका तर्फबाट एक हजार ५ सय र प्रतियोगिता सञ्चालन भएको चाणक्य स्कुलको तर्फबाट थप एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा श्री बालप्रेमी माध्यामिक विद्यालयका छात्र रामकृष्ण सेन्चुरी दृतिय र ओम ज्ञान मन्दिर स्कुलकी छात्रा सृष्टि श्रेष्ठ तृतिय हुनुभयो । दृतिय हुने सेन्चुरीले आयोजककातर्फबाट र चाणक्य स्कुलबाट एक÷एक हजार एवम् तृतिय हुने श्रेष्ठले आयोजकबाट ५ सय र चाणक्य स्कुलबाट एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।


प्रतियोगितामा साहित्यकारहरु पदमप्रसाद दाहाल, रामशरण कार्की र सम्पत काफ्लेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा मध्यपुर थिमि नगरभित्र सञ्चालित २६ वटा सामूदायिक र संस्थागत विद्यालयका ३१ जना छात्रछात्राको सहभागिता रहेको आयोजक समाजका अध्यक्ष कविराज घिमिरेले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुमा साहित्यमा अभिरुची बृद्धि गर्ने र उनीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा सहभागी छात्रछात्राको कविताको स्तर, वाचनशैली र शब्द चयन समेत उत्कृष्ट देखिएको र भविष्यमा पनि प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको आयोजक समाजका उपाध्यक्ष दिनानाथ पोखरेलले बताउनुभयो ।