युसेप नेपालको स्तरोन्नती गर्नुपर्नेमा भक्तपुरका सांसदहरुको जोड

भक्तपुर, भदौ २२
भक्तपुरबाट प्रतिनिधिसभा र बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरुले मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित ‘न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ (युसेप) नेपाल र त्यहाँ सञ्चालित बाल सुधार गृहको स्तरोन्नतीका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
युसेप नेपालले शुक्रवार आयोजित छलफल कार्यक्रममा संघिय र प्रदेशका सांसदहरुले गत भदौ ३ र ४ गते सुधार गृहमा भएको घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्ने सुझाव समेत दिनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले युसेपमा सञ्चालित बाल सुधार गृहलाई थप स्तोरन्नती गर्दै यसको क्षमता बृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले गत भदौ ३ र ४ गतेको घटनापनि सुधार गृहको आलोचना धेरै भएको तर यसलाई कसरी सुधार गरेर लैजाने भन्ने बारे कसैले समाधान दिन चासो नदिएको बताउनुभयो ।
“११० जनाको क्षमता भएको सुधार गृहमा करिव ३ सय जना राखिएको छ । कसरी व्यवस्थापन गर्यो होला ? कति कठिनाई भयो होला ? भन्ने तर्फ चर्चा छैन,” उहाँले भन्नुभयो, “क्षमता भन्दा धेरै राखियो । लापरवाही भयो भनेर प्रचार गर्न खोजियो । यसले समाधान दिँदैन ।” उहाँले सुधार गृहमा अझै थप सय जनालाई राख्न सकिने गरी यसको पुर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले राष्ट्रपति र प्रधानमन्त्रीको निवासका आलिसान महल बनाउने, ७ वटा प्रदेश प्रमुखका लागि ललितपुरको भैंसेपाटीमा अर्वौ खर्चेर महल बनाउने तर युसेप नेपाल र यहाँ सञ्चालित बाल सुधार गृह जस्तो संस्थाहरुको क्षमता बृद्धि, स्तरोन्नतीका लागि योजना नबन्नु दुभाग्र्य भएको बताउनुभयो ।
उहाँले पछिल्लो पटक सुधार गृहमा आतंक मच्चाउने प्रयास गरिएको बताउँदैं चरणवद्ध रुपमा छलफलका कार्यक्रम सञ्चालन गर्दै भ्रमलाई चिरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले सुधार गृहका कमीकजमजोरीको जिम्मा व्यवस्थापनले लिनुपर्ने भन्दै भदौ ४ गतेको घटनाको जिम्मेवारी स्थानीय प्रशासन र सुरक्षा निकायले पनि लिनुपर्ने बताउनुभयो । उहाँले प्रशासनले समयमा घटनाको आंकलन गर्न नसक्दा सुरक्षा संयन्त्र चुकेको टिप्पणी समेत गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले भदौ ४ गतेको घटनाबाट पाठ सिकेर यसलाई थप सुविधा सम्पन्न बनाईनु पर्नेमा जोड दिनुभयो । उहाँले युसेपको व्यवसायिक शिक्षालय र सुधार गृह अलग अलग पाटो हो भन्ने नबुझेर पनि युसेपमाथि आक्षेप लाग्ने गरेको बताउनुभयो ।
सांसद रमा कोइराला पौडेलले युसेपले बालबालिकाहरुको भविष्य निर्माण धेरै ठूलो योगदान गरिरहेको चर्चा गर्दै सुधार गृहमा रहेका बालकको मृत्यु हुनुमा कहाँ कमजोरी भयो त्यो पहिचान गरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु सुरेश श्रेष्ठ, भावना श्रेष्ठ र धनेश्वरी प्रजापतिले सुधार गृहको सुधारका लागि आवश्यक पहल र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रममा युसेप नेपालका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले युसेप नेपालले अहिलेसम्म ६० हजार भन्दा बढी न्यूनतम सुविधा विहिन बालबालिकाहरुलाई सिपमुलक प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गरी उनीहरु मध्ये ९० प्रतिशतलाई रोजगारीको समेत ग्यारेन्टी गरिएको जानकारी दिनुभयो ।
उहाँले युसेप नेपालले विभिन्न १८ वटा सिपमूलक तालिमहरु निशुल्करुपमा सञ्चालन गर्दै आइरहेको र कार्यक्रम अनुसार केहीमा अति न्यून शुल्क लिने गरिएको बताउनुभयो ।
उहाँले सुधार गृहमा रहेका बालकको मृत्यु भएको घटनामा केही कमीजोरी भए त्यसको जिम्मा लिन र जुनुसुकै सजाय भोग्न समेत तयार रहेको बताउँदैं जुन अकल्पनीय घटनाको विषयलाई अतिरञ्जित बनाउँदैं भदौ ४ गते अर्को घटना हुनु दुःखद भएको बताउनुभयो । उहाँले सो घटनामा युसेप नेपाल भित्र करिव १५ लाखको क्षति भएको प्रारम्भिक मूल्यांकन भएको जानकारी दिनुभयो ।


उहाँले मृतक बालकले अघिल्लो साँझ दालको सुप खानुका साथै राती पनि साथीहरुको सहयोगमा पानी पिएको जानकारी दिँदैं बिहान पख अचेत अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि नागरिक अस्पताल लगिएको र त्यही मृत घोषणा गरिएको बताउनुभयो ।
“अस्पताल लैजान कागजी र सुरक्षाका केही प्रक्रिया पुरा गर्दा लाग्ने समय ढिला भयो होला । तर उपचारका लैजान कुनै कमजोरी भएको छैन,” उहाँले भन्नुभयो । उहाँले बाहिर चर्चा भएजस्तै सुधार गृहमा सुत्न पालो कुर्नुपर्ने, अस्वस्थकर खाना खुवाउने, शोषण हुने भन्ने हल्लामा कुनै सत्यता नभएको जिकिर गर्दै यसबारेमा प्रत्यक्ष अवलोकन गर्न सकिने बताउनुभयो ।
छलफलपछि सांसदहरुको समूहले युसेप नेपालले सञ्चालन गरिरहेका तालिम र सुधार गृहको अवलोकन निरिक्षण समेत गर्नुभएको थियो । सो अवसरमा सांसदहरुले त्यहाँ तालिममा सहभागी र सुधार गृहमा रहेका बालबालिकाहरुसँग पनि कुराकानी गर्नुभएको थियो ।