मध्यपुर थिमिको परम्परागत पेशाको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने

भक्तपुर, भदौ २२
परम्परागत पेशा र घरेलु उद्योगहरुको संरक्षण र प्रवद्र्धनको लागि मध्यपुर थिमि नगरपालिकाको आमन्त्रणमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले शुक्रवार मध्यपुर थिमिको अवलोकन भ्रमण गर्नुभएको छ ।
मन्त्री चित्रकारले मध्यपुर थिमिको माटोको भाँडा बनाउने, सेरामिक्स र मानन्धरहरुको परम्परागत पेशा तेल उत्पादन गर्ने ‘सा’को संरक्षण गरी प्रवद्र्धनका लागि सो अवलोकन भ्रमण गर्नुभएको हो ।
सो अवसरमा उहाँले माटोको भाँडा बनाउने विधि, त्यसलाई प्रदुषण रहित तरिकाले पोल्ने चिम्नी, सेरामिक्सको उत्पादन, यसको बजारीकरण र मानन्धर समूदायसँग सा सञ्चालनका समस्याका बारेमा छलफल समेत गर्नुभएको थियो ।
मध्यपुर थिमिको परम्परागत पेशा मध्ये एक माटोको भाँडा बनाउने हो । पछिल्ला केही दशक यता सेरामिक्स पनि मध्यपुर थिमिको परिचय बन्दै गएको छ भने मानन्धर समूदायले परम्परागतरुपमा सा सञ्चालन गरी खाने तेल उत्पादन गर्दै बिक्रि वितरणको पेशा अंगाल्दै आएका छन ।


नगरपालिकाले ती पेशाको संरक्षण गरी प्रवद्र्धन गर्ने र यसको बजारीकरणलगायतका समस्या समाधनका लागि ठोस कार्ययोजना निर्माण गरी अघि बढ्ने योजना अनुरुप आवश्यक बजेट र कार्यक्रमका लागि बागमती प्रदेशका मन्त्री चित्रकारलाई स्थलगत अवलोकन गराईएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले विगतदेखी नै यहाँको परम्परागत पेशाको संरक्षणको लागि कार्य गर्दै आइरहेको बताउँदैं यसलाई पर्यटनसँग पनि जोडेर थप आयआर्जनको बाटोको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
मन्त्री चित्रकारले मध्यपुर थिमि नगरभित्र अझ पनि परम्परागत पेशा जिवित भएको र यसैबाट जिविकोपार्जन हुनु खुसीको विषय भएको बताउँदैं यसलाई थप परिस्कृत र आधुनीकिकरण गर्दै व्यवसायिकरुपमा विकास गर्न प्रदेश सरकारले ठोस नीतिगत र आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री चित्रकारलाई यसअघि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदी, वडाअध्यक्षहरु र नगरपालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।