गुनासो नआउने गरी कार्यसम्पादन गर्ने भक्तपुरका सरकारी कार्यालय प्रमुखहरुको अठोट

भक्तपुर, भदौ २२
भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरुले जनताको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने अठोट लिएका छन । निजामती कर्मचारी दिवस २०८० को अवसरमा जिल्ला प्रशासन कार्यालयमा शुक्रवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले आफ्ना कार्यालयका सेवालाई थप पारदर्शी, सरल र सहज बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाएका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सरकारी कार्यालयमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार हुने आरोप लाग्ने गरेको बताउँदैं भक्तपुरमा यस्ता आरोप नआउने गरी कार्यसम्पादन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले कार्यालयका गतिविधिलाई पारदर्शी ढंगले अघि बढाउन र नीति नियमलाई पालना गरी कार्य सम्पादनमा जोड दिनुभयो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले नागरिकका अधिकांश सेवा स्थानीय तहसँग जोडिएको चर्चा गर्दै स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधालाई प्रदेश सरकारले उचित सम्बोधन नगरेको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहमा सरकारका तीनै तहका कर्मचारी कार्यरत रहेको बताउँदैं उनीहरुको सेवा सुविधा एकरुपकता नहुँदा यदाकदा कार्य सम्पादनमा समस्या आउने गरेको टिप्पणी गर्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले देशको शासन व्यवस्थाको मूल्यांकन सरकारी कार्यालयको कार्य सम्पादनमा आधारित हुने भएकाले सरकारी कार्यालयले कस्तो सेवा प्रवाह गरिरहेको छ, त्यसैको आधारमा सरकारको लोकप्रियताको समेत मापन हुने बताउनुभयो । उहाँले निजामति सेवा राज्यको स्थायी सरकार भएकाले राज्यका तीनै तहका सरकार सफल बनाउने कडी समेत सरकारी कार्यालयको सेवा प्रवाह भएको बताउनुभयो ।


उहाँले भक्तपुरका सरकारी कार्यालयमा यदाकदा ढिलासुस्ती हुने गरेको जनगुनासो आउने गरेपनि अनियमितताका घटना केही वर्ष यता सार्वजनिक नहुनु सुखद पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले निजामति सेवा ऐन समयमा नआउँदा वृत्ति विकासमा असर गरेको, निजामति सेवालाई सरकार परिवर्तनसँगै राजनीतिक स्वार्थका लागि उपयोग गर्ने प्रवृत्ति बढेको, निजामति कर्मचारीहरुलाई जहिल्यै शंकाको दृष्टिले हेर्ने गरेको गुनासो गरेका थिए ।

यसैबीच निजामति सेवा दिवस २०८० को अवसरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले नायव सुब्बा विमलकुमार काफ्लेलाई सम्मान गरेको छ । काफ्लेलाई कार्यसम्पादन मूल्यकांनका आधारमा आर्थिक वर्ष ०७९÷८० को कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको प्रजिअ खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।