व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल भारतसँग पराजित, खेल हारेपनि मन जित्न सफल

भक्तपुर, भदौ १९
व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल एसिया कप क्रिकेट २०२३ को समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको पल्लेकेलेमा सोमवार राती सम्पन्न खेलमा समूहको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुँदैं प्रतियोगिताबाट बाहिरिएको हो । जितसँगै भारतले सुपर चारमा स्थान बनायो ।
जितका लागि २३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि खेल २३ ओभरमा झारिएको थियो । डर्क विथ लेविस नियम अनुसार भारतलाई १४५ रनको लक्ष्य निर्धारण गरिएको थियो ।


भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।
नेपालले भारतीय कप्तान रोहित शर्मालाई १६ रनमा जीवनदान दिएको थियो । सातौं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेलाई प्रहार गरेको सर्ट डिप स्क्वायर लेगमा गुलशन झालाई छाड्न पुगेका थिए ।
त्यसअघि श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका ओपनर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।


अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै ड्रिम सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई अन्य ब्याटरले निरन्तरता नदिदा विशाल योगफल बनाउन चुकेको थियो ।
तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको १६ औं ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे ।
जडेजाको २२ औं ओभरको पाँचौं बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा पुगेको थियो ।


आसिफ तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप एज लागेको बल कोहलीले सर्ट कभरमा एक हातले क्याच लिन पुगे । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे ।
३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए ।
दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहे ।


भारतको जितमा रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए । वर्षाको कारण लगातार खेल प्रभावित बनेको थियो ।
खेल हारेपनि मन जित्न सफल

एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग १० विकेटले खेल हारे पनि मन भने जित्न सफल भएको छ । विशेषगरी भारतजस्तो बलियो टोलीसँग डटेर व्याटिङ गर्नु नेपाली टोलीको उत्कृष्ट पक्ष थियो । मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ ।
टस जितेका भारतका कप्तान रोहित शर्माले नेपाललाई ब्याटिङको निम्तो दिए । अनि फस्ट बलरद्वय मोहम्मद सामी र मोहम्मद सिराजलाई एक अर्को इण्डबाट बलिङ गराए । त्यसका बाबजुद नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले सम्हालिएर ब्याटिङ गरे, पाएको मौकालाई सदुपयोग गर्दै बाउन्ड्री पनि मारे ।


भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । चार–चार ओभर बलिङ गर्दा पनि सामी र सिराजले विकेट लिन नसकेपछि भारतीय कप्तानले नवौं ओभरमा हार्दिक पाण्डेयलाई बल थमाएका थिए । उनलाई पनि दुबैले एकएक बाउन्डी हाने ।
दशौं ओभरमा आएका शार्दुल ठाकुरलाई चौथो बलमा कुशलले छक्का हानेका थिए । तर अर्को बलमा विकेट लिए । २५ बलको सामना गरेका कुशलले तीन छक्का र दुई छक्काको मदतमा ३८ रन बनाए ।
तीन क्याच ड्रपले नेपाललाई फाइदा
नेपालको उत्कृष्ट प्रदर्शनमा भारतको तीन क्याच ड्रपले पनि सहयोग पुगेको थियो । पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद शामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।

लगत्तै दोस्रो ओभरको पहिलो बलमै मोहम्मद सिराजले नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर सिर्जना गरेका थिए । फेरि क्याच ड्रप भयो । विराट कोहलीले सजिलो बल समात्न सकेनन् ।
पाँचौं ओभरको दोस्रो बलमा शामीले भुर्तेललाई आउटको अर्को अवसर सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्रीमा पुग्यो ।
नेपालको दुई डिएसआर सफल
खेलमा नेपालले ५ पटक डिएसआरको सहायता लिँदैं रिभ्यु लिएका थिए । जसमा दुई पटक व्याटिङ र एक पटक बलिङमा लिएका थिए । त्यसमा दुई पटक सफल भएको थियो ।
नवौं ओभरको पहिलो बलमा अम्पायरले भुर्तेललाई एलबीडब्लू आउट दिएका थिए । नेपालले त्यसमा रिभ्यू लियो र त्यसमा सफलता हासिल ग¥यो । भुर्तेललाई आउट दिने अम्पायरको निर्णय थर्ड अम्पायरले सच्याए ।
त्यसैगरी १९ औं ओभरको अन्तिम बलमा आसिफ सेखलाई कुलदिप यादवको बलमा अम्पायर पि विल्सनले आउट दिएका थिए । त्यसमा पनि नेपालले डिएसआरको सहायताले रिभ्यु माग गरे । थर्ड अम्पायरले त्यसलाई सच्याउँदैं आसिफ आउट नभएको निर्णय दिएका थिए ।


त्यस्तै ४२ औं ओभरमा बलिङ गर्न आएका हार्दिक पान्ड्याको पहिलो बलमा अम्पायरले दिपेन्द्रसिंह आउट दिएका थिए । त्यसमा पनि नेपालले रिभ्यु लिएका थिए तर त्यसमा सफल हुन सकेन ।
नेपालले बलिङमा पनि दुई रिभ्यु लिएका थिए, तर त्यसमा सफलता पाउन सकेन । त्यसमा पनि सफलता मिलेको भए खेलको कथाले अर्कै मोड लिन सक्थ्यो ।
बलिङमा नेपालले पहिलो रिभ्यु ओपनिङ बलिङ गरेका करण केसीको तेस्रो बलमा लिएका थिए । उनको रोहित शर्मा विरुद्धको एलबिडब्लयु अपिललाई अम्पायरले अस्विकार गरेपछि नेपालले रिभ्यु लिएका थिए । त्यसमा सफलता पाउन सकेन ।
यस्तै १६ औं ओभरमा बलिङ गरिरहेका सन्दिप लामिछानेको ४ औं बलमा रोहित शर्मा विरुद्ध एलबिडब्लयु अपिलमा अम्पायरले आउट नदिएपछि नेपालले बलिङमा दोस्रो पटक रिभ्यु लिएका थिए । तर त्यसमा पनि सफल हुन सकेन । थर्ड अम्पायरले अम्पायरको निर्णय सही भएको बताए ।