नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाईयो, भारतलाई नयाँ लक्ष्य १४५ रन

भक्तपुर, भदौ १८
एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाएको छ । वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएको हो । ओभरसँगै लक्ष्य पनि घटेको छ ।
वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि अव २३ ओभरको मात्रै खेल हुने भएको हो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । खेल नेपाली समय अनुसार १० ः ३० मा सुरु हुनेछ ।
यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।