क्यानडा पठाई दिन्छु भनी अनलाइन ठगी गर्ने दुई जना पक्राउ

भक्तपुर, भदौ १८
वर्कपरमिट भिसामा क्यानडा पठाई दिने भनी ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षिय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३५ वर्षिय महावीर प्रसाद साह छन ।
उनीहरुलाई सन्देश गौतमको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो ।
उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा क्यानडा जान वर्कपरमिट भिसा पाईने भनी विज्ञापन गरी इन्स्टाग्राम प्रयोगकर्तासँग म्यासेजमार्फत कुराकानी गर्ने गरेको र विभिन्न प्रलोभनमा पारी ठगी गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।


प्रहरीका अनुसार साह र नेपालीले आफुहरु क्यानडाको रजिष्टार्ड एजेन्ट रहेको बताई क्यानडामा क्यासियरको काममा लगाईदिने र मासिक ५ लाख ४५ हजार तलब हुने भनी प्रलोभनमा पारी विभिन्न कागजपत्र तयार गर्न नेपालमै रहेको विभिन्न बैंकको खातामा ३४ लाख ५७ हजार ७१० रुपैंया जम्मा गर्न लगाई ठगी गरेको उजुरी परेको हो ।
“मासिक ५ हजार ७ सय क्यानेडियन डलर, नेपाली ५ लाख ४५ हजार तलवमा क्यासियरको काम लगाई दिन्छु भनी प्रक्रियाको लागी आइएलटिईएसको प्रमाणपत्र, व्यक्तिगत विवरण, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाईदिन पटक पटक म्यासेज गर्ने र उल्लेखित कागजपत्र पठाएपछि हेल्थ इन्सोरेन्स, सेक्युरेटी डिपोजिट, एलोकेटेड फण्ड, भिसा भेरिकेसन, डिएचएल मार्फत कागजपत्र पठाउनेलगायतका प्रक्रियाको लागि भनी पिडितलाई नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको नाममा सञ्चालित बैंक खाताहरुमा पटक–पटक गरी रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,” एसपी रेग्मीले भन्नुभयो ।
पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको एसपी केसीले बताउनुभयो ।