बाल सुधार गृहबाट भागेका थप ९ जना प्रहरी नियन्त्रणमा

भक्तपुर, भदौ ५
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृह तोडेर भागेका मध्ये थप ९ जना प्रहरी नियन्त्रणमा आएको छ । यससँगै सुधार गृहबाट भागेका २२१ मध्ये २०४ जना प्रहरी नियन्त्रणमा आएको छ । फरार मध्ये १७ जना सम्पर्कमा आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतवार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सोमवार सुधार गृह बाहिर नारावाजी गर्दै सुधार गृहका सञ्चालकसहित सरोकारवालालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
सोही क्रममा सुधार गृह भित्रका युवकहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरे । यसैक्रममा भित्रका युवकहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरी माथि नै आक्रमण गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरी बल प्रयोग गर्दा स्थिती झन उग्र भई सुधार गृहका बालबिज्याईंकर्ताहरु प्रहरी माथि आक्रमण गर्दै सुधार गृहबाट फरार भएका थिए ।