बक्सिङका प्रकृती र शेरपलाई ब्राजिलमा कास्य

भक्तपुर, भदौ ६
ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई कास्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा कास्य पदक जितेका हुन् ।
दुबै खेलाडीहरुले क्वार्टर फाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्धन्दीसँग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन् । तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा उनी पछि पर्न गएको थियो ।
गतवर्ष काठमाण्डौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । उनका प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए ।
उनले भने– “आयोजक विरुद्ध उनीहरुको घरमा खेल्न शुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो । दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेन । दुःखको कुरा हो । तर उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।”
यसैगरी प्रकृती सेमीफाइनलमा क्रोयसियाका खेलाडीसंग ‘आरएससी’ आउट हुन पुगेकी हुन् । पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन् ।
त्यसैगरी बास्केटबलतर्फ महिला ३ अन ३ माचिलीसंग पराजित भएपछि नेपाल बाहिरिएको छ । त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् ।
प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ ।
अन्तर्राष्ट्रिय स्कुल स्पोटर््स महासंघ (आइएसएफ) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्षअगस्ट १७ देखि २५ तारिख सम्म हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।