बाल सुधार गृह सानोथिमिमा एक बन्दीको मृत्यु, स्थिती तनावपूर्ण

भक्तपुर, भदौ ३
बाल सुधार गृह सानोथिमिमा राखिएका एक बन्दीको आइतवार बिहान मृत्यु भएको छ । बलात्कारको आरोपमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्यु भएको हो ।
बस्नेतको मृत्युपछि बालसुधार गृह भित्र र बाहिरको स्थित तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा तथा कैदीबन्दीले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियो ।
यस्तै सुधार गृह बाहिर जम्मा भएका आफन्तले घटनाको बारेमा विस्तृत जानकारी पाउनुपर्ने र निष्पक्ष छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै प्रदर्शन गरेपछि केहीबेर स्थित तनावपूर्ण बनेको थियो ।

मृतकका मामा बताउने केशरबहादुर थापाले सुधार गृहको प्रशासनले आज बिहान मृतकका दाजु रामकुमार बस्नेतलाई भाईको मृत्यु भएको खबर दिएको तर के कति कारण मृत्यु भएको सो नबताएको जानकारी दिनुभयो ।


प्रहरी स्रोतले कमलको खुट्टामा चोट लागेको र सोही चोटको उपचारको क्रममा मृत्यु भएको बताएको छ । तर घटनाको यथार्त विवरण सार्वजनिक भएको छैन । सुधारगृहको स्थिती तनावपूर्ण बनेपछि जिल्ला स्थित सुरक्षा समितिको बैठक बसेको जानकारी प्राप्त भएको छ । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी परिसरका डिएसपी र महिला मन्त्रालयका प्रतिनिधिसहितको छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन गर्ने निर्णय गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
यसैबीच मृतकका आफन्त घटनाबारे छलफल गर्न प्रहरी वृत्त थिमि पुगेको छ । वृत्त प्रमुख डीएसपी रविन श्रेष्ठले छलफलका लागि मृतकका आफन्तलाई आउन आग्रह गरेपछि उनीहरु छलफलका लागि वृत्त पुगेका हुन । डिएसपी श्रेष्ठले सुधार गृहका पदाधिकारीहरुलाई पनि छलफलका लागि बोलाइने जानकारी दिनुभयो ।