सिमित व्यापारीलाई फाइदा हुने योजना सञ्चालन गरेर विगतमा भ्रम छर्ने काम भयो–सांसद थापा

भक्तपुर, भदौ २
नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ इकाइ समितिले शनिवार वडाका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसले आफ्ना पुराना र अग्रज नेता कार्यकर्ताको सम्मान गर्ने परम्पराको विकास गर्न वडा समितिले वडा सम्मेलनको अवसरमा ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले कांग्रेस अग्रजहरुको त्याग, तपस्या र बलिदानले आज यो स्थानमा आइपुगेको स्मरण गर्दै यो देशको हरेक राजनीतिक परिवर्तन र जनतालाई अधिकार सम्पन्न गर्ने आन्दोलनमा नेपाली कांग्रेसका अग्रज नेता कार्यकर्ताहरुको रगत पसिना बगेको बताउनुभयो ।
उहाँले कांग्रेस पार्टी नजन्मिएको भए यो देशका नागरिकले अझै लोकतान्त्रिक व्यवस्था र अधिकार पाउन नसकिने नेपालको इतिहासले प्रष्ट पारेको दावी गर्नुभयो ।


उहाँले भक्तपुरमा विगतमा विकासका नाममा केही सिमित व्यापारी र भूमाफियालाई प्रत्यक्ष फाइदा हुने योजना सञ्चालन गरेर जनतामा भ्रम छर्ने कार्य भएको र विकासका नाममा भ्रष्टाचार र अनियमितता भएको जिकिर गर्नुभयो ।
उहाँले विगतमा कांग्रेसका उम्मेदवारका रुपमा निर्वाचित संविधानसभा सदस्य रामेश्वर ढुंगेल पुर्व गाविस अध्यक्ष भएपनि सभासद भएपछि संविधान बनाउने काममा इमान्दारिकताका साथ प्रस्तुत भएको उदाहरण प्रस्तुत गर्दै यसै क्षेत्रका पुर्व सांसद अहिले पनि वडाअध्यक्षको पछि लागेर हिँड्नु शोभनिय नभएको टिप्पणी गर्नुभयो ।
सांसद भएपछि सबै काम गर्नुपर्छ र गर्छ भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै उहाँले नगरपालिका र वडाले गरेका योजना र विकास निर्माणमा आफु अघि सरेर रिवन काट्ने, सबै विकास आफुले गरेको हो भन्ने पक्षमा आफु नभएको स्पष्ट पार्नुभयो ।


“विगतमा हामीले रामेश्वर ढुगेललाई संबिधानसभामा जिताएर पठायौ । उहाँले हामीले दिएको जिम्मेवारी पुरा गरेर देखाउनुभयो । समयमै संबिधान बन्यो । उहाँले जनताले दिएको काम ईमान्दारीका साथ गर्नुभयो । अहिले केहि दिनदेखि म देख्दैछु यहाँका पुर्व माननीय वडा अध्यक्षको पछि लागेर रिवन काट्ने र जसलाई जे मनलाग्यो त्यही सत्तो सराप गर्ने, स्थानीय निकायका जनप्रतिनिधिले केही नगरे जस्तो सबै राज्यको जनताले तिरेको करले गरेको काम आफ्नै पकेटको पैसाले गरे जस्तो गरेर धक्कु लगाउदै हिँडेको देख्दा आफु अचम्म परेको छु,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले जनतालाई दवाब र प्रेसरमा पारेर, तर्साएर नेता बन्ने दिन गए भन्दै जनताले को कति पानीमा छ र कस्को हिजोको अवस्था र आयश्रोत के थियो भन्ने बुझी सकेको बताउनुभयो । उहाँले राजनीतिलाई ब्यवसाय बनाएर धन्दा चलाउन नसोचे हुने चेतावनी दिँदैं २०५२ सालदेखिको सम्पत्ति छानबिन गरे सबै छर्लङ हुने बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य सुमन कार्की, जिल्ला कार्यसमिति सचिव सुशील बस्नेत, प्रदेश सभापति प्रदिप कार्की नेपाली कांग्रेस सुर्यबिनायक नगर सभापति निशान ढुङ्गेल, तरुण दलका केन्द्रीय सदस्य राजु थापा, नेपाली कांग्रेसका नेता रवी राणा, नेविसंघका केन्द्रिय सदस्य जीवन जंग खत्री, नेविसंघ भक्तपुरका अध्यक्ष विश्व थापालगायतले कांग्रेसलाई कसैले सिध्याउन खाजे आफैं सिधिने चेतावनी दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ ईकाइ समितिका सभापति जगदिस बस्नेतले गुण्डु औद्योगिक ग्रामको जाने सडक निर्माणको क्रममा भयको भष्टाचारको विषयमा जनताले जनप्रतिनिधिको कठालो समाते पछि बेरुजु भयको ५५ लाख मध्ये ३० लाख रुपैया नगरपालिकाको खातामा हालेर चोखिन खोज्दा अख्तियारले छानबिन शुरु गरेको बताउनुभयो । उहाँले सूर्यविनायक ७ नं वडामा भएका अधिकांश योजनामा भष्टाचार भएको र समय क्रममा यस्ता योजना चाँडै छानबिनको दायरमा ल्याइ कार्वाही गरिने बताउनुभयो ।