चाँगुनारायणमा एभोकाडोका ८ हजार बिरुवा निःशुल्क वितरण

भक्तपुर भदौ २
चाँगुनारायण नगरपालिकामा ८ हजार एभोकाडोका बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’को रुपमा विकास गर्ने उद्देश्यले सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत ती बिरुवा वितरण गरिएको हो ।
बागमती प्रदेशका मूख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डि पि ढकालको परिकल्पना अनुसार चाँगुनारायणलाई ‘एभोकाडो सिटी’को रुपमा विकास गरी यहाँका नागरिकको आय आर्जनमा प्रत्यक्ष टेवा पुर्याउन बिरुवा वितरणको अभियान थालिएको हो ।
अभियान अन्तर्गत चाँगुनारायण नगरपालिकाका प्रत्येक परिवारलाई एभोकाडोको बिरुवा रोप्न अभिप्रेरित गर्ने उद्देश्यले दुई÷दुई वटा बिरुवा निःशुल्क वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले बताउनुभयो ।
“अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने लक्ष्यका साथ अभियान शुरु गरेका हौं,” उहाँले भन्नुभयो, “यस अभियानलाई ३ वर्ष सम्म सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।”
ढकालको परिकल्पनामा स्थानीय बासिन्दा अभियानमा जोडिएका थिए । अर्थशास्त्रका ज्ञाता ढकालले आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा एभोकाडो फलाउने र त्यसको आयआर्जनले यहाँका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले अभियानको शुरुवात गरिएको बताउनुभयो ।


अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा सञ्चालन भएको बताउँदैं उहाँले प्रकृती र पूर्खाको इतिहासले आफ्नो पहिचान बनाएको चाँगुनारायणलाई आफ्नो पुस्ताले एभोकाडो सिटी बनाएर नयाँ पहिचान जोड्न खोजेको जिकिर गर्नुभयो ।
“यस अभियानले चाँगुनारायणका प्रत्येक घर परिवारमा कम्तिमा वार्षिक पचास हजार अतिरिक्त आय थपिनुका साथै चाँगुनारायणको सौन्दर्यकरण र वातावरण संरक्षणमा समेत यसले मद्दत पुर्याउने छ,” उहाँले भन्नुभयो ।
अभियानमा स्थानीय बासिन्दा मात्र होइन जनप्रतिनिधिहरु पनि प्रत्यक्षरुपमा जोडिएका छन । अभियानको शुरुवातमा जोडिएका चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अभियानले यहाँका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो ।
“म चाँगुनारायणको बासिन्दा हुँ । यहाँको नागरिकको हितमा सञ्चालन हुने हरेक कार्यक्रममा मेरो पूर्ण समर्थन, साथ सहयोग रहनेछ,” उहाँले भन्नुभयो, “एभोकाडो सिटी अभियान यस्तै एउटा असल अभियान हो ।”
चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ रचनात्मक अभियान भएको भन्दै चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता जनक खत्रीले यस्ता राम्रा अभियानलाई सबैको साथ रहने बताउनुभयो । “चाँगुनारायणको नयाँ पहिचान थप्न थालिएको यस अभियानमा चाँगुनारायण नगरपालिका समेत आवश्यक सहयोगका लागि तत्पर छ,” उहाँले भन्नुभयो ।
सुडालका नेपाली कांग्रेसका स्थानीय नेता तिर्थराज घोरासाइनेले अभियान जनतासँग प्रत्यक्ष जोडिएको अभियान भएकाले राजनीतिक पूर्वाग्रह राख्न नहुने बताउनुभयो ।


अभियानका अभियन्ता एवम् वडा नं. ८ सुडालका स्थानीय बिनोद लामिछानेले अभियानमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको र कतिपय स्थानमा बिरुवा अपुग समेत भएको बताउनुभयो । उहाँले एकै वर्षलाई सबैलाई बिरुवा दिन नसकिएकोमा क्षमायाचना गर्दै बाँकीलाई अर्को वर्ष वितरण गरिने जानकारी दिनुभयो ।
अभियानमा प्रत्यक्ष जोडिनु भएका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठ ‘ सुनिल बासु’ले लामो समयको छलफल र तयारी पछि अभियान शुरु गरिएको बताउनुभयो । उहाँले यहाँको भागोलिक अवस्था, वातावरण र मौसमको अध्ययन गरी एभोकाडो उपयुक्त देखिएकोले एभोकाडो सिटीको अवधारणा अघि सारेको जानकारी दिनुभयो ।
“यहाँको माटो र भौगोलिक अवस्थाको अध्ययनको क्रममा सुन्तला, नासपातीलगायतका फलफुलको पनि सम्भाव्यताबारे छलफल भएको थियो । तर बजारको हिसावले पनि एभोकाडो उपयुक्त देखिएकोले सोही अनुसार एभोकाडो सिटीको रुपमा विकास गर्न अभियान शुरु गर्ने निष्कर्षमा पुगेका हौं,” उहाँले भन्नुभयो ।
उहाँले केही स्थानमा एभोकाडोसँगै कागती र अम्बाका बिरुवा पनि वितरण गरिएको जानकारी दिँदैं अभियानले आगामी चार वर्षपछि यहाँको मुहार फेर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अभियानको शुरुवातपछि यहाँको पहिचान मेटाउन थालिएको भनीे आलोचना समेत भएको बताउँदैं चाँगुको ऐतिहासिक पहिचानलाई एभोकाडो सिटीको अभियानले कुनै असर नगर्ने बताउनुभयो ।
अभियानको शुरुवात गत असार ३१ गते भएको थियो । चाँगुनारायण नगरपालिकाको सभाहल तपादम्फो परिसरमा एभोकाडोको बिरुवा रापेर शुरु भएको अभियान शनिवार छालिङमा बिरुवा वितरण गर्दै समापन भएको छ ।
यसबीचमा चाँगुनारायणका ९ वटै वडामा निःशुल्क बिरुवा तिवरण गरिएको अभियानका संयोजक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ताथली, दुवाकोट, चाँगु, बागेश्वरी, सुडाल, नगरकोटलगायतका स्थानमा निःशुल्क बिरुवा वितरण गरिएको थियो ।