राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् – मन्त्री ज्वाला

भक्तपुर, भदौ १
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् भएको बताउनुभएको छ । स्ट्रक्चरल ईञ्जिनियर एशोसियसन नेपाल (सीनेप)ले शुक्रवार आयोजना गरेको ‘प्रव्लोम एण्ड सोलुसन इन स्ट्रक्चरल एनालाइसीस, डिजाइन र कन्स्ट्रक्सन’ विषयक एक दिने सेमिनारमा मन्त्री ज्यालाले ठूला संरचना निर्माण गर्ने ज्ञान, सीप र अध्ययन सम्मान योग्य भएको बताउँदैं राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् भएको बताउनुभएको हो ।
“यो विधा अलि जटिल, कठिन र चुनौतीपूर्ण कार्य गर्ने विधा हो । नेपालका ठूला संरचना निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् छ । साँच्चै यहाँहरुले सम्मान योग्य कार्य गर्नुभएको छ,” उहाँले भन्नुभयो ।
उहाँले नेपालमा ०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण, भूकम्पीय जोखिम कम गर्न भवनको प्रवलीकरण गर्न स्ट्रक्चरल ईञ्जिनियरले ठूलो योगदान दिएको स्मरण गर्दै पछिल्ला केही वर्ष यता नेपालले पूर्वाधार क्षेत्रमा मारेको फड्को समेत स्ट्रक्चरल ईञ्जिनियरको देन भएको बताउनुभयो ।


ईञ्जिनियर पेशा स्वय्ममा मानिसको जीवनसँग जोडिएको पेशा भएको बताउँदैं उहाँले ईञ्जिनियरहरुको इमान्दारिताले भूकम्प जस्ता ठूला विपदमा मानिसको जीवन बचाउन र भौतिक क्षती समेत कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्माले पछिल्ला केही वर्ष यता नेपालमा पनि ठूला ठूला संरचना निर्माणको विकास भएकाले मन्त्रालय र विभाग स्ट्रक्चरल ईञ्जिनियरहरुसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।
शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले नेपालको प्रशासनिक क्षेत्रमा अझसम्म ईञ्जिनियरको उपसमूह नहुनु दुःखद भएको बताउनुभयो । उहाँले ईञ्जिनियरहरुको विभिन्न संघ संस्था भएपनि नेपालमा निर्माण हुने ठूला परियोजना र ती परियोजनाका संरचनाहरुका बारेमा संस्थागतरुपमा बालेको नपाएको बताउनुभयो । उहाँले यस्ता संघ संस्थाहरुले सामूहिकरुपमा बोल्ने हो भने कतिपय भ्रमहरु चिर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सीनेपका अध्यक्ष डा. राजन सुवालले इस्ट्रक्चरल इञ्जिनियरहरुले साधारण तथा अग्ला भवन, पुल, हाइड्रो पावर हाउसका ड्यामलगायतका संरचना, विद्युत र टेलिकमका टावर, अस्पतललगायतका भवनहरुको निर्माणमा आफ्नो सीप, ज्ञानको प्रयोग गरी नेपालमा पूर्वाधार विकासमा योगदान दिएको बताउनुभयो ।
सेमिनारमा आशा कन्सल्टीङ ग्रुप प्रा.लि.का प्रमुख डा. झविन्द्र प्रसाद घिमिरेले प्रमुख वक्ताको रुपमा नेपालमा र विदेशमा भएका ठूला पुर्वाधारको निर्माणमा के कस्ता स्ट्रक्चरल प्रविधि उपयोग गरिएको र के कस्ता समस्याहरु देखा परेको थियो भन्ने प्रस्तुतीकरण गर्नुभएको थियो ।


यसका साथै प्यानल छलफलमा विज्ञकारुपमा पुल्चोक क्याम्पस सिभिल ईञ्जिनियरिङ विभागका एचओडी प्रो. डा. ईं गोकर्ण बहादुर मोट्रा, साह कन्सल्ट ईन्टरनेसनल प्रा. लि.का एमडी डा. ईं सन्जीव साह, शहरी विकास तथा भवन विभागका ई. मचाकाजी महर्जन, नेपाल आर्दश निर्माण कम्पनीका डाइरेक्टर ई विरेन्द्र पाण्डे, अन्तरराष्ट्रिय कन्सल्ट्यान्ट, रिसाटेक एण्ड बेन्टलीका डा. ई. उमेश पुरीले इस्ट्रक्चरल ईञ्जिनियरिङका शैक्षिक पाठ्यक्रम, डिजाइन, सरकारी नीति तथा कार्यक्रम र कोड, अन्तराष्ट्रिय अभ्यास र स्ट्रक्चरल निर्माणका बारेमा आ–आफ्नो अनुभव बताउनुका साथै समस्या समाधानका लागि सुझाव दिनुभएको थियो ।
यसैगरी डा. ई विष्णुप्रसाद गौतम, ईन्टरनेसनल डिजाइन कन्सलटेन्ट ईं सुरिध शर्मा, नेसनल डिाजाइन कन्सलटेन्ट÷इम्पिमेन्टरका ईं किरण आचार्यले पनि आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।