मध्यपुर थिमि नगरभित्रका १५ किलोमिटर सडकमा ६१४ वटा सडकबत्ती जडान हुने

भक्तपुर, भदौ १
मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा सडकबत्ती जडान गर्नका लागि मध्यपुर थिमि नगरपालिका र विद्युत प्राधिकरणबीच शुक्रवार सम्झौता भएको छ । नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा आधुनिक सडकबत्ती जडान कार्य नगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने भएको हो ।
सम्झौता अनुसार लगानीको अनुपात नगरपालिकाको ६५ प्रतिशत र प्राधिकरणको ३५ प्रतिशत लागत सहभागिता रहनेछ । परियोजनाको कुल अनुमानित लागत ३ करोड ८५ लाख ५९ हजार ७६५ रुपैंया रहेको छ । सडकबत्ती जडान कार्यका लागि प्रविधिको छनोट गर्ने, बोलपत्र दस्तावेज तयार गर्ने, खरिद कार्य सम्पन्न गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य प्राधिकरणले गर्नेछ । सडकबत्ती निर्माण अवधि पश्चात ५ वर्षे मर्मत सम्भारको सम्झौता समेतको व्यवस्था बोलपत्रमा हुनेछ ।
सडकबत्तीको संरचना निर्माण पश्चात नगरपालिकालाई सडकबत्ती हस्तान्तरण गरिनेछ र सो को वारेन्टी पिरियड भित्र करेक्सन गर्नुपर्ने बाहेकका नियमित सम्भार र वार्षिक ममर्त सम्झौतामा नसमेटिएका मर्मत कार्यहरु प्राधिकरणको प्राविधिक सहयोगमा नगरपालिकाले गर्नेछ ।


सडकबत्ती जडानको कार्य प्राविधिकरण थिमि वितरण केन्द्रको समन्वयमा हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नगरका मुख्य सडकहरुमा प्रभावकारी यातायात व्यवस्था र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडकबत्ती व्यवस्थापन गर्न अपरिहार्य रहेकोले नगरपालिकाले प्राधिकरणसँगको सहकार्यमा सडकबत्ती जडानको आयोजना सञ्चालन गर्न लागिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
“शहरी सौन्दर्य अभिबृद्धि गर्न नगरपालिका क्षेत्रभित्रका सडकहरुमा सडकबत्ती जडान गर्नका लागि उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी सडकबत्ती जडान कार्य शीघ्र शुरु गर्ने र आवश्यकता अनुसार आपसी समन्वय र सहकार्यको आधारमा निरन्तर बिस्तार गर्दै जाने सन्दर्भमा यो सम्झौता भएको हो,” उहाँले भन्नुभयो ।
सम्झौता अनुसार नगरभित्रका करिव १५ किलोमिटर मूख्य सडकमा सडकबत्ती जडान गरिनेछ । त्यसका लागि १७५ वटा नयाँ विद्युत पोल, ६०, ९० र १२० वाटका ६१४ वटा लिड बत्ती र सञ्चार प्रणालीसहितको फिडर प्यानल १२ वटा जडान गरिनेछ ।