मध्यपुर थिमि नगरभित्रका विद्यालय थप ३ दिन बन्द हुने

भक्तपुर, साउन ३०
मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामूदायिक विद्यालय थप तीन दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा पैmलिएपछि सरोकारवालाहरुसँग छलफल गरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले साउन ३१ गतेदेखी भदौ १ गतेसम्म थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नगरपालिकाले गत आइतवार साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । दुई दिनमा संक्रमण नियन्त्रणमा नआएपछि मंगलवार नगरप्रमुख स्तरिय निर्णय गर्दै थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
“नगरभित्रका आँखा अस्पताल, स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी, नीजि विद्यालयको संगठन प्याव्सन, सामूदायिक विद्यालयका प्रधानाध्यापक र अन्य सरोकारवालाहरुसँगको छलफलमा आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को संक्रमणको दर झनै बढेको र रोगको संक्रमण फैलिएको निष्कर्ष निस्किएपछि संक्रमण रोकथाम र चेन ब्रेकको लागि थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो,” नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भन्नुभयो ।
उहाँले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ अनुसारको बिदाबाट कट्टा हुने गरी थप ३ दिन बिदा दिएको बताउनुभयो ।