वैवाहिक ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना दोषी ठहर, १५ महिना १५ दिन कैद र सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति

भक्तपुर, साउन २९्
भक्तपुर जिल्ला अदालतले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले गत साउन १७ गते भावनालाई दोषी ठहर हुने पैmसला गरेको थियो । साउन १७ गते अन्तिम फैसलामा ठगी तथा आपराधिक विश्वासघातमा दोषी ठहर गरिएकी भावना तामाङलाई कसुर निर्धारण गर्ने प्रयोजनका लागि साउन २८ गते आइतबारको पेसी तोकिएको थियो ।
आइतबारको पेसीमा भावनालाई १५ महिना १५ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तथा पीडित फुर्वा मोक्तानलाई सुनसहित कुल ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाइएको हो । साथै भावनाले झुक्यानमा पारी आफ्नो नाममा पास गरेको जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ ।
फुर्वाले भने भावनाले आफूलाई झुक्यानमा पारी विवाह गरी १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा हालेका थिए । सोही इजलासले भावनाले हालेको वैवाहिक बलात्कारको मुद्दामा भने खारेज गरि दिएको छ ।
फुर्वाले विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि सँगै बस्न नमानेको, पारपाचुकेको लागि दवाब दिएको भन्दै भावना विरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
भक्तपुर जिल्ला अदालतले सुरुमा ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।
आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभका सम्बन्धमा उल्लेख गरिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ । त्यसै गरी सोही ऐनको दफा २५४ मा ठगी गर्ने व्यक्तिले पीडितलाई बिगो बराबरको रकम असुल गरी पीडितलाई भराइदिनुपर्ने व्यवस्था गरिएको छ ।
के थियो घटना ?
जापानमा व्यापार व्यवसाय गरिरहेको बताउने भावना र मलेसियामा होटल व्यवसाय गरिरहेका फुर्वाबीच चिनजान फेसबुक मार्फत भएको थियो । आफुलाई अविवाहित बताउने भावनाले राम्रो केटा पाए विवाह गर्ने बताएपछि फुर्वाले विवाहको प्रस्ताव राख्नुभयो । भावनाले पनि प्रस्ताव स्वीकार गरिन् ।
वि. सं. २०७७ फागुन १० गते दुईबीच विवाह भयो । विवाहका लागि फुर्वाले दुलही भावना, उनकी आमा, दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन उपहार दिए भने अन्य वैवाहिक कामका लागि करिब १५ लाख खर्च गरे ।
विवाहपछि जापान जाने प्रक्रियाका लागि भन्दै भावनाले फुर्वाको घरजग्गा बेच्न लगाउने, आफ्नो नाममा राख्ने र विभिन्न बहानामा लाखौं रकम लिने गरेका थिए । पटक पटक विभिन्न बहानामा करिव एक करोड ४५ लाख रकम लिएपछि भावना २०२२ फेब्रुअरी ८ मा जापान गइन् ।
जापान पुगेर कागजात बनाएर पठाउने भनेकी भावना सुरुको केही दिन फुर्वासँग कुराकानी गर्ने गरे पनि त्यसपछि कुराकानी नै गर्न छाडिन् । बरु फुर्वासँग छुट्टिन चाहेको सन्देश पठाइन् । त्यसपछि मात्र फुर्वाले आफू लुटिएको पत्तो पाए ।
भावनाले ‘धोका’ दिएको र सम्पत्ति सबै हत्याएर पारपाचुके गर्न खोजेको चालपाएपछि फुर्वाले कन्सुलर सेवा विभागमार्फत भावना हराएको भन्दै निवेदन दिए । निवेदन लगत्तै कन्सुलर सेवा विभागले भावनाको खोजी ग¥यो । फुर्वाले भावनालाई जापानबाट डिपोर्ट गरी नेपाल पठाउन निवेदन दिएपछि भावनाले पहिले लिएको सम्पत्ति र सुन फिर्ता नगर्ने तर अरू दाबी नगर्ने गरी डिभोर्स गर्ने प्रस्ताव पठाइन् ।
तर फुर्वाले भावनाको प्रस्ताव स्वीकार गरेनन् । पछि संयुक्त नाममा रहेको घरजग्गा फिर्ता गर्ने सर्तमा भावना नेपाल आइन् । तर नेपाल आएपछि भावनाले फुर्वालाई उनले कुनै रकम आफूलाई नदिएको भन्ने कागज गर्न लगाइन् । यसको अर्थ पहिले कागज बनाउने, डिभोर्स गर्ने अनि सम्पत्तिसहित सम्बन्धबिच्छेद गर्ने ।
यो रणनीति बुझेपछि फुर्वाले भावनाको प्रस्ताव अस्वीकार गर्दै ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भावनालाई पक्राउ ग¥यो । प्रहरीले ठगी र आपराधिक विश्वासघातको कसुरमा भावनामाथि भक्तपुर जिल्ला अदालतमा मुद्दा चलायो ।
भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट भावना तामाङ कसुरदार होइनन् भन्न सकिएन भन्दै २०७९ असार १३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले भावनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।
भक्तपुर जिल्ला अदालतले भावनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि सो आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन लिएर पुगिन् । २०७९ असार २३ गते दर्ता भएको उक्त निवेदनमा साउन १२ गते न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र राज्यलक्ष्मी बज्राचार्यको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्दै थुनामै राख्ने आदेश दियो । त्यसपछि भावना थुनामै रहनुपर्ने भयो र उनी हनी ट्रयाप (ठगी र आपराधिक विश्वासघात)को कसुरमा सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताउन बाध्य बनिन् ।