एसिया कपको लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

भक्तपुर, साउन २९
बहुप्रतिक्षित एसीसी एसिया कप एकदिवसीय प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको नेतृत्वमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा युवा व्याटर देव खनाल पर्न सकेनन भने ज्ञानेन्द्र मल्लले सन्यास लिएका कारण मौसम ढकाल, सन्दीप जोरा र किशोर महतोले भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको छ ।
टोलीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी र अर्जुन साउद रहेका छन ।
एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।