देश अराजकता र अत्यन्त अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको छ – डा. कोइराला

भक्तपुर, साउन २७
नेपाली कांगे्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकता र अत्यन्त अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख ले शनिवार आयोजना गरेको प्रथम सम्मेलनमा नेता कोइरालाले भ्रष्टाचारका काण्डै काण्डले अराजकता र अत्यन्त अप्ठ्यारो परिस्थितीबाट देश गुज्रिन थालेको बताउनुभएको हो ।
उहाँले काण्डै काण्डको चाङमा पछिल्लो सुन काण्डले सबै काण्डलाई बिर्साइ दिएको टिप्पणी समेत गर्नुभयो । “देश अराकतातर्फ गइरहेको छ । काण्डै काण्डले देश अप्ठ्यारो परिस्थितीमा गइरहेको छ । त्यो काण्डहरुमा पछिल्लो काण्ड सुन काण्ड जोडिन आएको छ । यो काण्डले सबै काण्डहरुलाई बिर्साइ दिएको जस्तो लाग्न थालेको छ,” उहाँले भन्नुभयो ।


उहाँले संसदमा सुन काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सांसद सुनिल शर्मालाई पक्राउ गरिएको हो की भन्ने आशंका व्यक्त गर्दै देशमा प्रतिशोधको राजनीति विकास भइरहेको बताउनुभयो । उहाँले प्रतिशोधको भावनाले राजनीति राजनीति नरहने टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा जब प्रतिशोधको भावना हुन्छ, तब राजनीति राजनीति रहँदैन ।”
उहाँले देशको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताउनुभयो । “समानुपातिक खराब त म भन्दिन । तर प्रत्यक्ष निर्वाचन बाहेक अर्को तरिकाले जान थाल्यौं भने, यही प्रकारको समानुपातिकमा जान थाल्यौं भने देश छिटो भन्दा छिटो दुर्घटनामा जान्छ,” उहाँले भन्नुभयो, “त्यसकारण प्रत्यक्ष निर्वाचन प्रणालीले उत्तम हो ।”


उहाँले कांग्रेसले एक्लै निर्वाचन लड्नुपर्छ मान्यता धेरै कांग्रेसीको मत रहेकोले त्यसलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसमा व्यक्तिवादी चरित्र र स्वार्थीपना हावी भएको बताउँदैं उहाँले त्यसले कांग्रेसलाई बलियो नबनाउने धारणा राख्नुभयो । उहाँले कांग्रेसले जातियता र सामप्रदायिकतालाई पनि प्रशय दिन नहुने बताउनुभयो ।
उहाँले पार्टीभित्र गुट उपगुटको अन्त्यका लागि नेता कार्यकर्ता कसैको इशारामा नभई आफ्नो स्वविवेक प्रयोग गरी पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतामा चल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाले कांग्रेसले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न नेतृत्व लिनुपर्ने बताउनुभयो । “राणा, पञ्चायत र राजा विरुद्ध संघर्षको नेतृत्व गरेको कांग्रेसले अब देशमा भ्रष्टाचारको अन्त्य गर्ने र असल सुशासन कायम गर्ने कार्यको नेतृत्व गर्नुपर्छ,” उहाँले भन्नुभयो ।


उहाँले संविधान संशोधन गरी प्रदेश र संघीय संसदको समानुपातिक खारेज गर्ने, राष्ट्रिय सभालाई समानुपातिक र समावेशी बनाउने कार्यको समेत कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसका टिकट वितरणको प्रणाली परिवर्तन गरी क्रियाशिल सदस्यको समर्थन र मतका आधारमा टिकट दिने प्रणाली विकास गर्नुपर्ने र त्यसका लागि पार्टीका वडा, नगर, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनले आवश्यक छलफलसहित सुझाव पार्टीलाई दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन जनप्रतिनिधिहरुले असल काम गर्नुपर्नेमा जोड दिनुभयो ।


नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसमा सैद्धान्तिक र मूल्य मान्यताको प्रतिष्पर्धा शुरु भएको बताउँदैं यसले पार्टीमा गुट उपगुटको अन्त्य गर्ने विश्वस व्यक्त गर्नुभयो । भक्तपुर कांग्रेसले पार्टीका अग्रज सबै नेतालाई सम्मान गर्ने बताउँदैं नेताहरु एकले अर्कोलाई खुइलाएर कहीँ पुग्न नसकिने धारणा राख्नुभयो ।
उहाँले भक्तपुरमा कांग्रेसका एकपछि अर्को सम्मेलन र गतिविधिले प्रतिपक्षी आत्तिन थालेको टिप्पणी गर्दै सम्मेलनले कांग्रेसलाई भक्तपुरमा थप गतिशिल बनाउने, चलायमान बनाउने र संगठित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ का सभापति भेषराज कार्कीले भक्तपुरमा कांग्रेसलाई निर्वाचनमा विजयी गराउन र संगठित बनाउने कार्यमा मध्यपुर थिमि सधैं अग्रणी रहेको चर्चा गर्दै कांग्रेसले केन्द्रले यही मध्यपुर थिमिलाई केही हेला गरेको अनुभुती हुने गरेको गुनासो गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरप्रमुखमा निर्वाचित भएको एकवर्षमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा उल्लेख सुधार गरेको विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पुँजीगत खर्च बृद्धि हुने गरी योजना सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।


सभापति ओम प्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, सम्मेलन आयोजक तयारी समितिका संयोजक कान्छा श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख का सचिव प्रेम कुटुलगायतले सम्मेलनको औचित्य प्रकाश पार्दै यसले संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्रका पदाधिकारीहरु, त्यस क्षेत्रका नगरसमितिका पदाधिकारी लगायत करिव ५ सय जनाको सहभागिता रहने सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनले राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन आर्थिक प्रतिवेदन र भावी कार्ययोजनामाथि छलफल गरी पारित गर्ने सचिव कुटुले बताउनुभयो ।