पार्टी सधै इमान्दार कार्यकर्ताको पक्षमा छ – सांसद एवम् सभापति थापा

भक्तपुर, साउन २७
नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले पार्टीका नेता कार्यकर्ताहरुलाई इमान्दार भएर संगठन बिस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस सूर्याविनायक नगरसमितिको शुक्रवार बसेको १९ औं बैठकलाई सम्बोधन गर्दै घिमिरेले नेता कार्यकर्ताहरुलाई लोभ लालचमा नलाग्न र नफसी ईमान्दार हुन निर्देशन दिनुभएको हो ।
उहाँले राणा शासन हटाउन देखी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् नयाँ संविधान जारी गर्नेसम्मको नेतृत्व लिएको कांग्रेस कहीँ कतै एक पटक चुनाव हार्दैमा आत्तिने र जित्दैमा मात्तिने पार्टी नभएको स्पष्ट पार्नुभयो ।
बैठकमा नेपाली कांग्रेस जिल्ला सभापति दुलर्भ थापाले कहीँ प्राविधिक कारणले चुनाव हारे पनि भक्तपुरमा पार्टी कमजार नभएको जिकिर गर्नुभयो । उहाँले पार्टी भित्र कुनै गुट उपगुट छ भन्ने नलागेको बताउँदैं जो पार्टीमा बफादार भएर लागेका छन उनीहरुको मनोबल गिराउन चलाएको हल्ला मात्र भएको दावी गर्नुभयो ।
पार्टीमा कुनै गुट उपगुट छ जस्तो लाग्दैन । केहि चाप्लुसी गर्ने नेता हँु भनेर हिड्ने साथीहरूले चलाएका हल्ला मात्र हो । जो ब्यक्ति बफादार भएर काम गरिरहेको छ उसले कहिले पनि पार्टीमा गुट उपगुट छ भन्दैन र छैन पनि तर जो बिहानदेखि नेताका ढोक चाहार्दछ त्यसले मात्र यस्ता कुरा गरेर ईमान्दार कार्यकर्ताको मनोबल गिराई रहेका छन । त्यस्तालाई वडा देखि तह लगाउने काम तपाईहरूले गर्नुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले आफु सँधै इमान्दार कार्यकर्ताको पक्षमा रहेको र पार्टीले त्यस्ता नेता कार्यकर्तालाई उचित समयमा उचित जिम्मेवारी दिँदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आगामी नगर सम्मेलनमा विषयमा छलफल भएको नगर प्रवक्ता रमेश खड्काले बताउनुभयो ।