भक्तपुरमा पर्यटक आगमन–अघिल्लो वर्षको तुलनामा ३ गुणा बृद्धि

लक्ष्मी गारु, भक्तपुर, साउन २६
भक्तपुर नगरका सम्पदा अवलोकनका लागि आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढी पर्यटकको आगमन भएको छ । विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय बृद्धि भएसँगै भक्तपुर नगरमा पर्यटकहरुको चहलपहलमा समेत दिन प्रतिदिन बृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा ५३ हजार ५६० जना विदेशी पर्यटकहरूले भक्तपुर नगरका सम्पदाहरुको अवलोकन गरेको थिए भने आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६७ हजार ६५२ जना पर्यटकको आगमन भएको भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् ।
सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा गैर सार्क २२ हजार ८७ जना र चीनसहित सार्क राष्ट्रका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको छन । आ.व. २०७८÷७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेकोमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५०० रुपैयाँ पर्यटन शुल्क उठेको नगरपालिकाले जनाएको छ ।
आ.व.२०७८÷७९ को तुलनामा यस आ.व. २०७९÷८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या बृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २४७ जना र सार्क एवम् चीनका ४९ हजार ८४५ जना पर्यटकहरु रहेका छन् । त्यस्तै आ.व.२०७८÷७९ को तुलनामा यस आ.व. २०७९÷८० मा रु. १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय बृद्धि भएको हो ।


भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार आ.व. २०७९÷८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इङ्गल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक नेपाली एक हजार ५ सयलाई बृद्धि गरी एक हजार ८ सय कायम गरी शुल्क संकलन गर्दै आएको छ । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई ५ सय रुपैंया शुल्क संकलन गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग उठाउँदै आएको पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो । नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्य स्थलको रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको उहाँले बताउनुभयो ।
भक्तपुर नपामा हाल दैनिक औसतमा ४÷५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । भक्तपुरमा पर्यटकहरूको आगमनसँगै भक्तपुरका व्यवसायीहरु पनि खुशी छन् र भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढेको अवस्था छ ।
भक्तपुर नगरपालिकालेले पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सुचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको सोही केन्द्रका कर्मचारी मुरज दिदियाले बताउनुभयो । हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारीहरु कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको छ ।
समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरूलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरूसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको नगरपालिकाले जनाएको छ ।
भक्तपुर नपाले हालै भक्तपुर भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको थियो ।
हरेक वर्ष विश्व पर्यटन दिवस, विश्व सम्पदा दिवस, टुरिष्ट गाईड दिवसजस्ता नियमित दिवसहरु मनाउँदै आएको छ । भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहहरुलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । भक्तपुर नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रयास समेत गरिरहेको छ ।
पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गरेको छ । साथै चालु आर्थिक वर्षमा पनि यस्ता गतिविधिलाई निरन्तर सञ्चालन गर्दै जाने नगरपालिकाको योजना रहेको छ ।