कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रदेश सम्मेलन साउन २७ गते हुने

भक्तपुर, साउन २६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रथम ऐतिहासिक प्रदेश सम्मेलन यही साउन २७ गते हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र र कांग्रेसको विधान अनुसार भक्तपुरमा पहिलो पटक प्रदेश सभा क्षेत्र अन्तर्गत भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को सम्मेलन हुन लागेको हो ।
सम्मेलनको बन्द सत्रमा भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ अन्तर्गत मध्यपुर थिमि नगरपालिकाको ९ वटै वडाका क्षेत्रीय प्रतिनिधि, वडा समितिका पदाधिकारी, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य, महासमिति एवम् महाधिवेशन प्रतिनिधिहरु, जिल्ला, क्षेत्र र नगरका पदाधिकारीहरु, पर्यवेक्षकहरु र पार्टीका शुभचिन्तकहरु समेत गरी करिव ५ सय जनाको सहभागिता रहने नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ का सभापति ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।
सम्मेलनको उद्घाटन सत्र खुल्ला हुनेछ । सम्मेलनमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक एवम् सर्वसाधारण नागरिकहरु गठ्ठाघर चोकमा भेला भई ¥यालीसहित कार्यक्रम स्थल कौशलटारको ह्वाईट प्यालेसमा आउने व्यवस्था गरिएको छ । खुल्ला सत्रमा करिव एक हजार ५ सय जनाको सहभागिता रहने अनुमान गरिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।


सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गर्नुहुनेछ । सम्मेलनमा पार्टी सहमहामन्त्री जीवन परियार, पार्टी बागमती प्रदेशका सभापति ईन्द्र बानिया, जिल्ला सभापति एवम् सांसद दुर्लभ थापा, पार्टी केन्द्रीय सदस्यहरु अतिथीको रुपमा रहनेछन ।
बन्दसत्रमा सहमहामन्त्री जीवन परियारले ‘वर्तमान परिस्थिती र नेपाली कांग्रेस’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नेछ । त्यसैगरी बन्दसत्रमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’का सभापति ओम प्रकाश श्रेष्ठले राजनीतिक प्रतिवेदन, सचिव बालकृष्ण श्रेष्ठले सांगठानिक प्रतिवेदन, सचिव प्रेम कुटुले आगामी वर्षको कार्ययोजना, कोषाध्यक्ष विनु केसीले आर्थिक प्रतिवेदन पेश गर्नेछन । ती प्रतिवेदनहरु माथि सहभागीहरुबीच छलफल गरी पारित गर्ने र सम्मेलनको घोषणापत्र जारी गरी समापन हुनेछ ।
मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिले सम्मेलनले नेपाली कांग्रेसलाई मध्यपुर थिमिमा थप गतिशिल बनाई संगठन बिस्तारमा सहयोग पुग्नुका साथै पार्टी संगठन बिस्तारमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनका लागि कान्छा श्रेष्ठको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरिएको छ । त्यसैगरी निराकर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, सचिव प्रेम कुटुको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कोषाध्यक्ष विनु केसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको तयारी समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।