कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला

भक्तपुर, साउन २१
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा डेरा गरी बस्ने ५४ वर्षिय लालबहादुर तामाङसँग सँगै सुतेका घरधनी ५० वर्षिय सुभाष तामाङ मृत फेला परेको हो ।
कोठा भाडामा बस्ने रामेछाप सुनापती गाउँपालिका–४ का लालबहादुर भने अशक्त अस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
“शनिवार बिहान ११ बजे सँगै सुतेका लालबहादुर र घरधनी सुभाष मध्ये भुईमा लगाएको ओछ्यानमा सुभाष मृत अवस्थामा फेला परेको हो । लालबहादुर भने सोही कोठाको खाटमा वान्ता गरी अशक्त अवस्थामा फेला परेको हो,” एसपी केसीले भन्नुभयो ।
अशक्त लालबहादुरको भक्तपुर अस्पतालमा उपचार भएको छ । सुभाषको शव केएमसी अस्पताल दुवाकोटमा पोष्टमार्टम गरिएको छ । सुभाष र लालबहादुर विगत १५ दिनदेखी सँगै बस्दै आएका थिए । दुवै जना सधै मादक पदार्थ सेवन गरेर हिँड्ने गरेको अनुसन्धानमा खुल्न आएको एसपी केसीले बताउनुभयो । मृतक सुभाष आन्द्रा सम्बन्धी बिरामी भई शल्यक्रिया समेत गरेको बुझिन आएको एसपी केसीले जानकारी दिनुभयो ।