मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

भक्तपुर, साउन २१
जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
जफत गरिएको मल भक्तपुर नगरपालिकालाई जिम्मा लगाईएको छ । “नगरपालिकाले उक्त मल किसानहरुलाई बिक्रि गरी प्राप्त भएको रकम नगरपालिकाको राजश्व खातामा जम्मा हुने गरी जफत गरिएको १३९ बोरा मल भक्तपुर नगरपालिकालाई जिम्मा लगाएका छौं,” निरौलाले भन्नुभयो ।
प्रशासनले गत शुक्रवार भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित एन बि मल पसलमा छापा मारेको थियो । सो पसलले एक हजार एक सय मूल्य पर्ने कृषि सामग्री केन्द्रले उपलब्ध गराएको नेपाल सरकारको अनुदान प्राप्त मल २ हजार एक सय रुपैयामा बिक्रि वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रशासनले छापा मारेको थियो ।

अनुसन्धानको क्रममा सो पसलका सञ्चालक न्हुछेंभक्त कटुभुटुले विभिन्न ब्राण्डका भारतिय अवैध मल बिक्रि वितरण गरेको पाईएपछि प्रशासनले पसलमा सिल गरी मल जफत गरेको थियो ।