कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार – सभापति एवम् सांसद थापा

भक्तपुर, साउन ११
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार रहेको बताउनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन)को राष्ट्रिय समितिले बिहिवार बोडेमा आयोजित सार्वजनिक तथा नीजि क्षेत्र श्रम बजार, अधिकार, चुनौती र आगामी कार्यदिशा विषयक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सांसद थापाले विगतमा पनि भक्तपुरमा कांग्रेस एक्लै निर्वाचन लडेर जितेको इतिहास रहेको भन्दै कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार रहेको बताउनुभएको हो ।
“पटक पटक भन्ने गरेको छु, भक्तपुरमा कांग्रेस गठबन्धन विना पनि निर्वाचन लडेको छ र जितेको पनि छ । आउँदा निर्वाचनमा पनि गठबन्धन विना निर्वाचन लड्न र जित्न सक्छ । गठबन्धन विना पनि नेपाली कांग्रेसलाई भक्तपुरमा एक नम्बरको पार्टी बनाउन सक्छौं,” उहाँले भन्नुभयो ।


उहाँले भक्तपुरमा कांग्रेस कहिल्यै कमजोर नबनेको जिकिर समेत गर्नुभयो । “भक्तपुरमा नेपाली कांग्रेस कहिल्यै कमजोर भएको छैन । कांग्रेस भक्तपुरमा जहिले पनि एक नम्बरको पार्टी रहँदै आएको छ । नेपाली कांग्रेस भक्तपुरमा जहिले पनि एक नम्बरको पार्टीको रुपमा स्थापित छ । चाहे त्यो ७ सालमा होस या पछिल्लो पटकको निर्वाचनमा होस कांग्रेस पहिलो पार्टीको रुपमा रहेको छ,” उहाँले भन्नुभयो ।

उहाँले सभापतिलाई कमजोर बनाएर पार्टी कहिल्यै बलियो बन्न नसक्ने र कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक गणतन्त्र समेत कमजोर बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सभापति सफल भयो भने कांग्रेस बलियो र सफल हुन्छ, कांग्रेस बलियो र सफल भए मुलुकको लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो बन्छ । उहाँले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध लेखेर पार्टी बलियो नहुने समेत बताउनुभयो ।
उहाँले ट्रेड अधिकार सुनिश्चित गर्न समेत कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । “नेपालमा ट्रेड युनियनको आन्दोलन कांग्रेसले शुरुवात गरेको हो, त्यसैले नेपाली कांग्रेस विना नेपालमा ट्रेड युनियनको अधिकार स्थापित हुन सक्दैन,” उहाँले भन्नुभयो ।