महासमिति बैठकलाई कांग्रेसको नीति अधिवेशनको रुपमा सम्पन्न गर्ने – सहमहामन्त्री पाण्डे

भक्तपुर, साउन ११
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मंसिरमा हुने महासमिति बैठकलाई कांग्रेसको नीति अधिवेशनको रुपमा सम्पन्न गर्ने बताउनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन)को राष्ट्रिय समितिले बिहिवार बोडेमा आयोजित सार्वजनिक तथा नीजि क्षेत्र श्रम बजार, अधिकार, चुनौती र आगामी कार्यदिशा विषयक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सहमहामन्त्री पाण्डेले सो बैठकले कांग्रेसको समसामयिक राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीतिलगायत आवश्यक सबै नीति पारित गरी कार्यान्वयनको दिशामा जाने बताउनुभएको हो ।
उहाँले महासमिति बैठक र नीति अधिवेशनपछि कांग्रेस सशक्त ढंगले अघि बढ्ने र सरकार एवम् मुलुकलाई नै दिशानिर्देश गर्ने समेत बताउनुभयो । “महासमिति बैठक र नीति अधिवेशनपछि पार्टीका आन्तरिक क्रियाकलाप सशक्त ढंगले सही दिशामा अघि बढाईनेछ । तीन तहका सरकारमध्ये जहाँ जहाँ कांग्रेसको नेतृत्वमा सरकार छ र जहाँ कांग्रेस सरकारमा रहेको छ, ती सरकारलाई जिम्मेवार बनाउने, राम्ररी चलाउने र सरकार एवम् मुलुकलाई दिशानिर्देश गर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले नेपालमा लगानीको विश्वास जगाउनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले अर्थतन्त्रमा देखा परेको अस्थिरताले श्रम बजार खुम्चन थालेको र सार्वजनिक सेवाका क्षेत्रमा रोजगारी गुमाउँदैं गएको अवस्था रहेको बताउनुभयो । नीजि क्षेत्रमा समेत रोजगारी कटौतीले आम नागरिकको जीवनस्तरमा समेत असर परेको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले भक्तपुरमा कांग्रेस एक्लै निर्वाचन लडेर जितेको इतिहास रहेको भन्दै कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार रहेको बताउनुभयो ।
“पटक पटक भन्ने गरेको छु, भक्तपुरमा कांग्रेस गठबन्धन विना पनि निर्वाचन लडेको छ र जितेको पनि छ । आउँदा निर्वाचनमा पनि गठबन्धन विना निर्वाचन लड्न र जित्न सक्छ । गठबन्धन विना पनि नेपाली कांग्रेसलाई भक्तपुरमा एक नम्बरको पार्टी बनाउन सक्छौं,” उहाँले भन्नुभयो ।
उहाँले भक्तपुरमा कांग्रेस कहिल्यै कमजोर नबनेको जिकिर समेत गर्नुभयो । “भक्तपुरमा नेपाली कांग्रेस कहिल्यै कमजोर भएको छैन । कांग्रेस भक्तपुरमा जहिले पनि एक नम्बरको पार्टी रहँदै आएको छ । नेपाली कांग्रेस भक्तपुरमा जहिले पनि एक नम्बरको पार्टीको रुपमा स्थापित छ । चाहे त्यो ७ सालमा होस या पछिल्लो पटकको निर्वाचनमा होस कांग्रेस पहिलो पार्टीको रुपमा रहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले सभापतिलाई कमजोर बनाएर पार्टी कहिल्यै बलियो बन्न नसक्ने र कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक गणतन्त्र समेत कमजोर बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सभापति सफल भयो भने कांग्रेस बलियो र सफल हुन्छ, कांग्रेस बलियो र सफल भए मुलुकको लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो बन्छ । उहाँले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध लेखेर पार्टी बलियो नहुने समेत बताउनुभयो ।
उहाँले ट्रेड अधिकार सुनिश्चित गर्न समेत कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । “नेपालमा ट्रेड युनियनको आन्दोलन कांग्रेसले शुरुवात गरेको हो, त्यसैले नेपाली कांग्रेस विना नेपालमा ट्रेड युनियनको अधिकार स्थापित हुन सक्दैन,” उहाँले भन्नुभयो ।


नेपाल ट्रेड युनियन कंग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले ट्रेड युनियन अधिकार स्थापित गर्न फेरी आन्दोलनको विकल्प नभएको बताउनुभयो । मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहम् र महत्वपूर्ण एवम् निर्णायक भूमिका खेलेका मजदुर, श्रमिक र सेवा क्षेत्रका कर्मचारीहरुको अधिकार, हकहित र वृत्तिविकासमा सरकार जिम्मेवार बन्न नसकेको भन्दै उहाँले फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
अप्सिनका राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्र दाहालको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेस राष्ट्रिय समितिका पदाधिकारीहरु, विभिन्न संघका प्रतिनिधिहरुले ट्रेड युनियन अधिकार खुम्चँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
दुई दिन चल्ने कार्यशालामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने सोहीको आधारमा अप्सिनको आगामी कार्यदिशासहितको प्रतिवेदन पारित गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।