कांग्रेस केन्द्रीय समिति बैठक १८ बुँदै निर्णय सार्वजनिक गर्दै सम्पन्न

भक्तपुर, साउन ११
नेपाली कांग्रेसको गत साउन २ गते शुरु भएको केन्द्रीय कार्यसमिति बैठक १८ बुँदे निर्णय सार्वजनिक गर्दै बुधवार सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गर्नु भएका प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने र लोकतन्त्रका मुलभूत आधारमानै प्रहार हुन थालेको भन्दै नेपाली कांग्रेस संविधानको रक्षा र कार्यान्वयन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
नेपाली कांग्रेसको तर्फवाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरुलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्दै आर्थिक अनियमिततावाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरि परिचालन गर्ने सङ्कल्प बैठकले गरेको छ ।
सुशासन र भ्रष्टाचार सँगसंगै जान नसक्ने ठहर गर्दै कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन र कोही निर्दोष नफसुन भन्ने पार्टीको नीति रहेको स्पष्ट पारेको छ ।
जनताले चाहेको भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र विकास निर्माणका क्षेत्रमा देखिएको अनियमिततालाई अन्त्य गरी सुशासनको प्रत्याभूति दिलाउन कांगे्रसले राहदानी, राष्ट्रिय परिचय–पत्र, सवारी चालक अनुमति पत्र लगायतका अति आवश्यक कागजात छिटो छरितो एवं सर्वशुलभ सेवा प्रदान गर्न, अर्थतन्त्रमा देखिएका सुधारलाई व्यापक र दिगो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउन, मूल्यवृद्धि र कालावजारी नियन्त्रणको लागि थप प्रभावकारी कार्य गर्न, दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरि गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई वेराजगार रहेका व्यक्ति परिवारका बारेमा सुक्ष्म अध्ययन गरि उनीहरुको जीविकोपार्जन गर्ने उचित बन्दोवस्त मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
यसैगरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्व कार्वाहीको दायरामा ल्याउन, किसानलाई समयमै सर्वशुलभ रुपमा मल बीऊ प्राप्त गर्न सक्ने प्रवन्ध मिलाउन ६ मुलुकभरका पशुमा देखिएको लम्पीस्किन रोग निवारणको तत्काल उपाय खोज्न र पिडित किसानलाई उचित क्षतिपूर्ति समयमै उपलव्ध गराउन, आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न समेत बैठकले सरकारसँग माग गरेको छ ।
लघुवित्त बैंक र सहकारी संचालकहरुको लापरवाही, अनियमितता र अपचलनका कारण वचतकर्ता सदस्यहरु ठगिएको, सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरुको समस्यालाई मध्यनजर गर्दै आवश्यक निर्णय गरि पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
संविधान र कानून बमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्न, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा प्रस्तुत भैसकेको वर्तमान सन्दर्भमा सहमतिका आधारमा संक्रमणकालिन न्याय सम्वन्धी विधेयक यथाशीघ्र संसदबाट पारित गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
भूमिहिन दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या दीर्घकालिन समाधानका लागि गठन भएको आयोगको तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न गराउन, तराई मधेशमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालिन समाधान खोज्न, बाढी पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितहरुलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, जातीय विभेद र लैङ्गिक हिंसाजन्य व्यवहार जस्ता घटना घट्न नदिन प्रभावकारी कार्ययोजना सहित कानून कार्यान्वयन गरी पिडकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ ।
यस्तै बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ (५) बमोजिम २०८० मंसिर १३—१५, काठमाण्डौंमा महासमितिको बैठक बोलाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ संचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले गत स्थानीय निर्वाचन र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक निर्णय नमानी निर्वाचनमा उम्मेदवार भई विजयी भएका १४ जनाको कार्वाही फुकुवा गरिएको छ ।
कांग्रेसले जनताको सुखदुःखमा सहयात्री बन्न र गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्यहरु अझ व्यवस्थित रुपले सम्पादन गर्न ७५३ वटै स्थानीय तहमा ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय गरेको छ ।
जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरुमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरु सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आवद्ध व्यक्तिको सदस्यता अविलम्व खारेज गर्ने निर्णय समेत कांग्रेसले गरेको छ ।
यसैगरी कांग्रेसले सामाजिक सञ्जालको प्रभाकारिताको विष्लेषण गर्दै नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्न पार्टी संगठनका सबै तहका समितिले “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरि सामाजिक सञ्जालमा आफ्नो छुट्टै आधिकारिक एकाउण्ट आवश्यकता अनुसार सञ्चालन गर्नेभएको छ । साथै पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेका यस्ता एकाउन्टहरुलाई तत्काल बन्द गर्न सचेत समेत गराएको छ ।