वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जना पक्राउ

भक्तपुर, साउन १०
विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्री ननगरपालिका–७ स्थाई घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने ३१ वर्षिय मौसम मग्राती, उदयपुर ताप्ली गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका नखीपोट बस्ने ३० वर्षिय प्रचलन राई र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाण्डौं कोटेश्वर बस्ने ३२ वर्षि अनन्त प्रकाश श्रेष्ठ रहेका छन ।
मग्रातीले टोकमान गुरुङलाई आकर्षक तलवमा वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी रकम लिएर सम्पर्क विहिन भई ठगी गरेको अभियोगमा बुधवार काठमाण्डौं काँडाघारीबाट पक्राउ गरिएको हो ।


त्यसैगरी राईले समर बहादुर परियारलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु भनी पटक पटक गरी ६ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएको आरोपमा पक्राउ गरिएको हो । राईले परियारलाई मासिक एक लाख तलवमा प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी प्रलोभनमा पारेका थिए ।
त्यस्तै श्रेष्ठले योगेन्द्र बहादुर साउद समेतलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनी पिडितहरुबाट पटक पटक गरी ८ लाख रुपैयाँ लिई फरार भएको आरोपमा पक्राउ गरिएको हो । श्रेष्ठले मासिक २ लाख तलवमा प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख रुपैया लाग्छ भनी पटक पटक गरी ८ लाख रुपैंया ठगी गरेको जनाईएको छ ।


उनीहरु तीनै जनालाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार गरेको आधारमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको एसपी रेग्मीले जानकारी दिनुभयो ।