चाँगुनारायणमा डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण

भक्तपुर, साउन ८
चाँगुनारायण नगरपालिकाले आइतवार नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, नगर अस्पतालका प्राविधिक, स्वास्थ्य चौकीका प्रमुखहरुलगायतका कर्मचारीहरुलाई डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी नगरस्तरिय अभिमुखीकरण गरेको छ । पछिल्लो समय डै.गीको प्रकोप बढ्न थालेपछि नगरको स्वास्थ्य शाखाद्धारा सो अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवालले डेँगी रोग, यसको रोकथाम तथा नियन्त्रण र सुरक्षाका उपायहरुमा प्रस्तुतीकरण गर्दै द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको, स्थानीय एफ.एम तथा रेडियो तथा सामाजिक सञ्जालबाट डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक संदेश प्रशारण भइरहेको जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दिपक अच्छामी तथा कान्तिराम खतिवडाले डेँगी रोग र नेपालमा यसको अवस्थाका बारेमा तथ्यांकगत विवरणका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायमा गतिविधिहरु सञ्चालन भइरहेको बताउनु्भयो । उहाँले समुदायस्तरमा जनचेतना बढाउनको लागि आमसंचार माध्यमका साथै सामाजिक सञ्जालको प्रयोग बढि प्रभावकारी हुने बताउनुभयो । नगर प्रमुख खत्रीले नगरपालिकामा जिल्ला द्रुत प्रतिकार्य समिति गठन भई द्र्ुत प्रतिकार्य टोली पनि गठन भइसकेकाले वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी तत्काल वडास्तरीय द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु संचालन गर्ने निर्देशन पनि दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेँगी रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गर्ने, रोग सम्बन्धि जनचेतना सबै समुदायमा फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन गरिने बताउनुभयो । उहाँले विद्यालयस्तर तथा सम्दायस्तरमा पूर्वतयारीका गतिविधिहरु सञ्चालनको लागि शाखागत आवश्यक समन्वय गरी द्रत रुपमा कार्य अगाडी बढाइने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख लगायत सहभागिहरुले आफ्ना सुझाब सहित रोकथाम तथा नियन्त्रण सम्बन्धि धारणाहरु राख्न्भएको थियो ।
चाँगुनारायण नगरपालिकाले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरुप वडा स्तरमा अभिमुखीकरण र द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रस लगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्था तथा विद्यालयको सहभागितामा घरधुरी सर्वेक्षण गरी घर घरमा पर्चा वितरण र नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा माइकिङ्ग गर्ने, सबै वडाहरुमा डेँगी नियन्त्रण रोकथाम खोज र नष्ट अभियान संचालन गर्ने, सबै स्वास्थ्य संस्थाहरुलाई डेँगीको सम्भावित जाँचको लागि तयारी अवस्थामा राख्ने योजना अनुरुप पूर्वतयारी तथा रोकथाम र नियन्त्रणका कार्यहरु गरिरहेको छ ।