प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

भक्तपुर, साउन ७
प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालयको प्रहरीले आइतवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् । उनीहरुलाई काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनुभयो ।
उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी ईलाका प्रहरी कार्यालय दमक, झापा पठाईएको एसपी रेग्मीले बताउनुभयो ।