पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

भक्तपुर, साउन ७
एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भएको थियो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।
भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा भारत पराजित हुन पुगेको हो ।
पाकिस्तानका स्पिनरले भारतको मध्यक्रम धरासयी बनाउँदै उपाधि यात्रा सहज बनाएका थिए । स्पिनर सुफियान मुकीकको बलमा अभिषेक शर्मा तयाब ताहिरबाट क्याच आउट भए ।

कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुब जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।
पाकिस्तानको जितमा सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला व्याटिङ गर्दै मध्यक्रमका ब्याटर तयाब ताहिरको शानदार शतकमा पाकिस्तान ए ले भारत ए लाई ३ सय ५३ रनको विशाल लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।
पाकिस्तानको सिनियर टोलीबाट समेत खेली सकेका तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । २९ वर्षीय तयाबले ६६ बलमा लिष्ट ए करिअरको चौथो शतक प्रहार गरेका थिए । उनले पाकिस्तानको सिनियर टोलीबाट तीन टि–२० आई खेल खेलेका छन् ।
पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले उत्कृष्ट शुरुवात दिाए । ओपनर अयुब र फहरानले १७.२ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिलाएका थिए ।
अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए । मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए । मध्यक्रमका ब्याटर ठूलो सटको चक्करमा आउट भए ।
छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको शतकीय साझेदारीका साथ पाकिस्तानलाई विशाल योगफलमा पुर्याएका थिए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए ।
भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए ।