कुस्ती टोलीले भारतको उत्तर प्रदेशमा थप प्रशिक्षण गर्ने

भक्तपुर, साउन ७
चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । टोलीमा ४ खेलाडीसहित ५ सदस्य छन ।
कुस्ती टोली सोमवार नेपालगञ्ज प्रस्थान गरेको छ । त्यहाँ टोलीले एक साता प्रशिक्षण गर्नेछ, त्यसपछि थप तयारीको लागि उत्तर प्रदेश जानेछ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिवाङगी दुवे (५७ केजी) र सुशिला चन्द (६२ केजी) रहेका छन् । १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी छन् ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न उत्पे्ररित गर्दै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।