विकास निर्माण निरन्तर चल्ने प्रक्रिया हो, सबै विकास मैले गरेको हो भन्ने भ्रम छर्ने पक्षमा म छैन – सांसद थापा

भक्तपुर, साउन ५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति सांसद दुर्लभ थापाले भक्तपुरमा विकासका नाममा भ्रमको खेती गर्ने पक्षमा आफु नभएको बताउनुभएको छ ।
नेपाल तरुण दल भक्तपुरले ४१ औं वि पि जयन्तीको अवसरमा मध्यपुर थिमि वडा नं. लोहकिल्थलीस्थित विपि पार्कमा आयोजित विपिको पूर्ण कदको शालिकमा माल्यापर्ण र वृक्षारोपण कार्यक्रममा सांसद थापाले विकासका नाममा कुनै पार्टी वा नेताले ठेक्का लिएको जस्तो भ्रम छर्दै हिँड्ने आफ्नो स्वभाव नभएको बताउनुभएको हो ।
“सडक बढार्ने पनि माननीयले गर्नुपर्ने, सडक पिच र पिचको निरिक्षण पनि माननीयले गर्नुपर्ने, कुनै विकास निर्माणका केन्द्रीय रुपमा, प्रदेश र स्थानीय तह, वडाको बजेटको योजनामा पनि संघीय माननीयले उद्घाटन र शिलान्यास गर्दै हिँड्ने परिपाटी हिजो भक्तपुरमा शुरु भएको थियो । त्यस्ता परिपाटी र प्रवृत्तिको म सक्त विरोधी हुँ,” उहाँले भन्नुभयो, “कुनै पनि हालतमा यस्ता खाले गतिविधि र क्रियाकलाप गरेर जनतालाई सबै विकास मैले गरेको हुँ भन्ने भ्रम जनतामा छर्ने पक्षमा म छैन ।”


कांग्रेस निरन्तर विकास निर्माणको प्रक्रियामा जोडिँदैं आएको बताउँदैं उहाँले यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता जनाउनुभयो । “२०४६ सालको राजनीतिक परिवर्तन पछि कांग्रेस विकास निर्माणका प्रक्रियासँग जोडिएको छ । भक्तपुर पनि त्यही प्रक्रिया र पद्धतीमा जोडिएर अघि बढेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक आधारभुत आवश्यता हुन । जनताका यी आधारभुत आवश्यकतासँग कांग्रेस नजिकबाट जोडिएको छ,” उहाँले भन्नुभयो ।
कांग्रेसकै नेतृत्वमा विगतदेखी वर्तमानसम्म ‘समृद्ध भक्तपुर अभियान’मा अघि बढेको बताउँदैं उहाँले भन्नुभयो, “चाहे त्यो खानेपानीमा होस, चाहे त्यो बाटोघाटोको सवालमा होस, चाहे त्यो बिजुलीको समस्या होस, चाहे त्यो शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा होस, नेपाली कांग्रेस सबै विषयमा जोडिएको छ, भविष्यमा पनि यसले निरन्तरता पाउनेछ ।”
मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा कांग्रेसको नेतृत्व स्थापित भएपछि विगत पाँच वर्षमा हुन नसकेका र सञ्चालन गर्न नसकेका विकास निर्माणका योजना सूचारु भएको उदाहरण प्रस्तुत गर्दै उहाँले भक्तपुरमा मात्र होइन मुलुकको विकासमा कांग्रेस नेतृत्वमा मात्र सम्भव हुने दावी गर्नुभयो ।


उहाँले पार्टी भित्र एकले अर्कोको टिप्पणी गर्ने, आलोचना गर्ने र गाली गर्ने प्रवृत्तिले पार्टीलाइ कमजोर बनाउने भएकाले यस्तो गतिविधि नगर्न नेता कार्यकर्ताहरुलाई सचेत पार्नुभयो । उहाँले कांग्रेसले विकास निर्माणका गतिविधिसँगै पार्टीका नेता कार्यकर्ताको संरक्षण गर्ने, उनीहरुलाई परेका समस्यासँग पार्टी जोडिएर सहकार्य गर्ने पद्धतीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
“एक नेताले अर्को नेतालाई गाली गरेर, चाहे त्यो रुपान्तरणको नाममा होस, चाहे त्यो संस्थापन पक्ष र विपक्षको नाममा होस, एउटाले अर्कोलाई खुत्लाउने भन्दा पनि कांग्रेस र विपिको विचार, सिद्धान्त र आदर्श बोकेर पार्टीभित्र आन्तरिक स्वच्छ प्रतिष्पर्धा गरेर अघि बढ्नुपर्ने खाँचो छ,” उहाँले भन्नुभयो ।
महामानव विपि यस शताब्धीकै महान समाजवादी नेता भएको दावी गर्दे उहाँले नेपालका पुराना र नयाँ सबै दलको राजनीति कांग्रेसको मूल्य मान्यता र सिद्धान्तको वरिपरी घुमिरहेको बताउनुभयो । “हिजो कांग्रेसलाई प्रतिक्रियावादी ठान्ने दल होस या आज नयाँ हुँ भन्ने दलहरु, ती सबै कांग्रेस र विपिको समाजवाद, मूल्य मान्यता र सिद्धान्त बोकेर सहकार्य गर्दै अघि बढेको छ,” उहाँले भन्नुभयो ।