स्मृति साँझमार्फत भक्तपुरले सम्झिए गायक अरुण थापा

भक्तपुर, साउन ६

भुँलु भुँलु लाग्यो मलाई सपनीमा
मिठो लाग्दैन विपनी…….
विपना मिठो नलागेर सपनीमा भुल्न मन मनपराउने अजर अमर गायक अरुण थापालाई भक्तपुरले शुक्रवार विपनीमै सम्झिएका छन । नेपाली सुगम आधुनिक संगीत क्षेत्रमा थोरै गीत गाएर पनि अजर अमर बन्न सफल गायक स्व. थापाको २४ औं स्मृति दिवसको अवसरमा ‘अरुण थापा स्मृति साँझ–२०८०’ मार्फत भक्तपुरले उहाँलाई सम्झिएका हुन ।
रागरागिनी इन्टरटेन्मेन्टले शुक्रबार भक्तपुरको पलाँसेस्थित काठमाण्डौं फन भ्याली ‘अरुण थापा स्मृति साँझ–२०८०’ गरी स्व. थापालाई सम्झिएका हो ।
स्मृति साँझमा गायक अजर जंगमले ‘जति माया लाए पनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’ गायक प्रनिल पलिखेलले ‘चोट के हो, व्यथा के हो’ गायिका सानुमाया धौभडेल ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँ भुलुँ लाग्यो’ बोलको गीत गाउँदै स्व. थापालाई सम्झिनुभयो ।
यस्तै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने श्रेय अगस्ति, सुनिल लोहला लगायतले गायक थापाका गीतहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गीतकार तथा उपन्यासकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र सांगीतिक योगदानको संक्षिप्त चर्चा गर्नुभएको थियो ।


सो अवसरमा वरिष्ठ गीतकार एवम् साहित्यकार सुवाषचन्द्र ढुंगेलले गायक अरूण थापा स्मृति दिवस १२ वर्ष अघिबाट आफु र चलचित्र समिक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको बताउनुभयो । यसवर्ष थापाको स्मृति दिवसलाई रागरागीनी इन्टरटेन्टमेन्ट भक्तपुरले आयोजना गरेको कार्यक्रम संयोजक एवम् गायक कपिल कसपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ढुंगेलले गायक थापासँग जोडिएको सांगीतिक यात्राको स्मरण गर्नुभयो ।
त्यस्तै काठमाडौं फन भ्यालीका डा. गोविन्द नेपालीले काठमाण्डौं फन भ्यालीले हरेक दिनको सुरूवात गीत संगीतबाटै हुने गरेको र त्यसमा गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर अरूण थापाको सांगीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताउनुभयो ।
कार्यक्रममा दर्शकका लागि प्रवेश निःशुल्क गरिएको थियो । नेपाली सुगम संगीतलाई जिवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवम् कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताउनुभयो । कसपालले कृतिशेष गायक स्व. अरुण थापालाई जिवन्त राख्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।


सञ्चारकर्मी विजय हाछेथुले सञ्चालन गरेको कार्यक्रममा चलचित्रकर्मी, गीतकार, साहित्यकार, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम र रागरागिनीको अफिसियल युट्युवबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रमको टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, अनलाइन पार्टनर आइकनखबर डटकम, फोटोग्राफी पार्टनर डायनामिक मल्टी मिडिया प्रडक्सन, टेक्निकल सपोर्ट एभरेष्ट इङ्गलिस स्कुल, म्युजिक को अर्डिनेट पार्टनर संगीत ग्राम गुरुकुल नेपाल, मिडिया पार्टनर अन्नपूर्ण पोष्ट र बैंकिङ पार्टनर नविल बैंक रहेको थियो ।